♦ ध्रुवराज विष्ट
शिक्षक आन्दोलन २०८१/८२ को ऐतिहासिक घडीमा म आन्दोलन शुरु भएको तेस्रो दिनदेखि लगातार २५औँ दिनसम्म सक्रिय रुपमा मोर्चामा उपस्थित भएँ। व्यस्तता, स्वास्थ्य र अन्य कारणले गर्दा ढिलो भइपुगेको दिनहरू पनि मोर्चाको कोणसभा प्रारम्भ हुनु पूर्व नै पुग्न कोशिश गरें। कहिले काहीँ ढिलो भए तापनि कम्तीमा एकछिनका लागि भए पनि उपस्थित भएर महासङ्घका नेताहरूको भनाइ सुन्ने र आन्दोलनको भावनासँग आत्मीयता जोड्ने प्रयास गरें।
यस २५ दिनको दौरान म कार्यरत जिल्ला मकवानपुर र बागमती प्रदेशका मेरा चिनेजानेका शिक्षक नेताहरूसँग जति सकिन्छ, भेटघाट गर्ने, अभिवादन आदानप्रदान गर्ने र आन्दोलनबारे धारणा बुझ्ने कार्यमा सक्रिय रहेँ। चिनेजानेका मात्र होइन, चिनिनसकेका धेरै शिक्षक साथिहरूसँग पनि संवाद गर्ने प्रयत्न गरें। आन्दोलनका क्रममा प्रदर्शन गरिएका सांस्कृतिक तथा मनोरञ्जनात्मक गतिविधिहरूप्रति मेरो विशेष रुचि नभए पनि त्यहाँ भाग लिने शिक्षकहरूप्रति मेरो सम्मान छ।
तर मेरो उपस्थिति र उद्देश्य भिन्न थियो। म आन्दोलनमा सहभागी हरेक शिक्षकको अनुहारमा सार्वजनिक शिक्षा र यो आन्दोलनप्रति कस्तो धारणा छ भन्ने कुरा पढ्न चाहन्थें। दुःखद कुरा के हो भने, मैले भेटेका सयमा पचास जना शिक्षकहरूको अनुहारमा पनि गाम्भीर्यता देखिनँ। धेरैको हावभावमा “हुन त केही हुनेवाला छैन, भए पनि म एक जनाले के फरक पर्छ?” भन्ने भाव स्पष्ट देखिन्थ्यो।

म कहिल्यै चर्चित, भाइरल शिक्षकसँग सेल्फी खिच्न उभिन सकिनँ, नाचगानमा पनि सहभागी भइनँ। किनभने मैले बुझें – आन्दोलनको गाम्भीर्यतालाई बाहिरबाट हेर्ने राज्य र आमजनताले यो रमिता भनेर व्याख्या गर्न सक्छन्। अनि यस्तै रमिताका रूपमा आन्दोलन प्रस्तुत हुँदा शिक्षामा गरिनुपर्ने गम्भीर लगानीलाई पनि ‘देशको भार’ भनेर बुझिने खतरा छ।
मैले एकदिन चर्चित ‘जादुवाला शिक्षक’सँग सोधे -“सर, तपाईं सँधै माइतीघर मण्डलादेखि नै आउनुहुन्छ?” उहाँको सादगीपूर्ण जवाफ “हो सर” बाट मैले आन्दोलनप्रतिको उहाँको समर्पण देखेँ। यस क्रममा मैले घाम, पानी, धुलो र धुवाँ खेप्नुपर्यो। आन्दोलनको २५औँ दिनतिर स्वास्थ्यले साथ नदिँदा रुघा, खोकी र ज्वरोले सताउन थाल्यो र म शारीरिक रूपमा उपस्थित हुन सकिनँ। यद्यपि, म मकवानपुरका साथीहरूसँग निरन्तर समन्वय र सहजिकरणमा लागिरहेँ।
मसँग भेट भएका हरेक शिक्षक साथीहरूसँग मैले अहिलेको आन्दोलन शिक्षकहरूको तलब, सुविधा वा पदको लागि मात्र नभई, समग्र सार्वजनिक शिक्षा प्रणाली सुधारको आन्दोलन हो भनेर प्रस्ट्याउने प्रयास गरें। म शिक्षण पेशामा उच्च आस्था राख्ने व्यक्ति हुँ। मैले +2 पछि गाउँकै निजी विद्यालयबाट शिक्षण आरम्भ गरें। काठमाडौँका राम्रा निजी विद्यालयमा पनि पढाएँ। पछि सामुदायिक विद्यालयमा राहत शिक्षकको रूपमा काम गरेँ। २०७९ सालको खुला प्रतिस्पर्धाबाट स्थायी नियुक्ति पाएँ र अहिले स्थानीय तहको शिक्षा शाखामा स्रोत शिक्षकको रूपमा कार्यरत छु।
निजी विद्यालयमा १५ हजार तलब लिएर पनि १००% नतिजा ल्याउने शिक्षक र सामुदायिक विद्यालयमा ३० हजार तलब खाएर पनि १०% नतिजा नल्याउने यथार्थको साक्षी बनेको छु। साथै स्थानीय सरकारसँग नजिक रहेर काम गर्दा सार्वजनिक शिक्षा प्रणालीको भित्री जटिलता, चुनौती र सुधार सम्भावनालाई मैले नजिकबाट बुझेको छु।
म सार्वजनिक शिक्षामा मात्र होइन, शिक्षण पेशामै गर्व गर्छु। र विश्वस्त छु। यो पेशा पनि निकट भविष्यमा निजामती सेवाजस्तै सम्मानित बन्नेछ। त्यसको जग अहिलेको आन्दोलनले तयार गरिरहेको छ। मेरो छोरा भक्तपुरको एक सामुदायिक विद्यालयमा कक्षा ९ मा पढ्दैछ। मेरी छोरी यो भदौमा ४ वर्ष पुग्दैछिन्। उनीहरूलाई निजी विद्यालयमा नभर्ना गरि सामुदायिक विद्यालयमै पढाउने निर्णय मेरो सार्वजनिक शिक्षाप्रतिको अटुट आस्थाको प्रमाण हो।
अन्त्यमा, म एक कुरामा अडिग छु। अब नयाँ शिक्षा ऐन बिना सार्वजनिक शिक्षा सुधार सम्भव छैन। नयाँ अग्रगामी शिक्षा ऐन ल्याउन जुन-जुन दल र सरकारको भूमिका रह्यो, तिनीहरूलाई धन्यवाद। विगतका सरकारले ‘सामर्थ्य नभएकै’ कारण यो ल्याउन सकेनन्। अहिले संसदमा दुई ठूला पार्टी सरकारमा छन्। आवश्यक ‘इन्टरभेन्सन’ गर्न सक्ने यो सुवर्ण अवसरमा विगतका सहमति समेटेर नयाँ ऐन ल्याउनु अबको अवश्यम्भावी जिम्मेवारी हो।
शिक्षक आन्दोलन कुनै सुविधा प्राप्तिको मात्र आन्दोलन होइन। यो समग्र शिक्षाको पुनर्संरचनाको आन्दोलन हो। सरकारसँग अहिले युगान्तकारी निर्णय गर्ने बहुमत छ। हामी शिक्षकहरू यही विश्वासमा दृढ छौँ कि । अहिलेको सरकार त्यो ऐतिहासिक जिम्मेवारी पुरा गर्न सक्षम छ।
-लेखक विष्ट मकवानपुरको कैलाश गाउँपालिकामा स्रोत शिक्षकको रुपमा कार्यरत छन् ।