बागमती प्रदेशको राधानी मकवानपुरको हेटौडा सुन्दर शहर नामले परिचित छ । सुन्दर शहरलेमात्र होईन पर्यटकीय दृष्ट्रीकोणले पनि मकवानपुर निकै धनी छ । प्रकृतिका सुन्दर दृश्यहरु, तरेली परेका फाँट,अग्ला होचा चुचुरा पहाड, नदी, ताल, हिमश्रृंखला, हरियाली यी सबै मकवानपुरमा छन् । यस्ता प्राकृतिक सौन्र्दयहरुले मकवानपुरलाई चिनाईरहेको छ । यस्ता सुन्दर ठाउँहरु चलचित्रलाई श्रृंगार्ने विषय पनि हुन् । यस्ता लोक भाका, लोक संस्कृति र समाजका रहनसहन शैली चलचित्रका कथा वस्तुका खुराक हुन् । विगतमा सामाजिक परिवेश र प्राकृतिक वस्तुहरुलाई समेटन कृत्रिम चित्रहरु बनाउनु पर्दथ्यो । नक्कली दृश्यहरु प्रयोग गर्नु पर्ने भनौ बनावटी बाध्यता थियो तर वर्तमान अवस्थामा पर्यटकीय क्षेत्रहरुका व्यवस्थित आकर्षणहरुलाई चलचित्र छायांकनमा उपयोगि गरिने क्रम बढ्दो छ । मकवानपुर जिल्लाकै अधिकांस स्थानहरुमा चलचित्र छायांकन भइसकेका छन् । स्थानीय क्षेत्रको विषय वस्तु समेटेर चलचित्रहरु बनाउने काम पनि भइसकेकाछन् ।
जस्तो चलचित्र माया त माया हो मकवानपुरको रजैया भन्ने ठाउको कथामा बनेको थियो । मकवानपुरको मात्र विषय राखेर चलचित्र भन्दा पनि वृत्तचित्रहरु धेरै बनेका छन् । यसरी स्थानीय विषय समावेश गरी चलचित्रहरु निर्माण गर्दा त्यसले स्थानीय जनताको अपनत्व र माया पाउन सक्दछन् । मकवानपुर जिल्लामा पर्यटन विकासको प्रचुर संभावना र अवसरहरु छन । यातायातको सुगमता र सहजता दृष्टिकोणले, राजधानी, ऐतिहासिक तथा सांस्कृतिक जिल्लाहरु काठमाडौं र ललितपुर जिल्लाहरुँंग सिमा जोडिएको कारणले साथै छिमेकी मित्र राष्ट्र भारतको रक्सौल नजिक भएको कारणले, यो जिल्ला पर्यटनको विकासकोलागि उच्च सम्भावनायुक्त जिल्ला मध्येमा पर्दछ । प्राकृतिक तथा सांस्कृतिक विविधताको प्रचुरताले, उपत्यकाबाट करिव एक घण्टाको दुरीमा रहेको चन्द्रागिरी पर्वतश्रङ्गखला, त्यहाँ फुल्ने लालिगुराँस, त्रिभुवनराजपथका दायाँबायाँ फुलेका सुनगाभा, अन्य जंगली फूलहरु र शीतल शान्त प्राकृतिक रमणीय वातावरणले कसको मन नचोर्ला ।
७५ प्रतिशत पहाडी भूवनोट, जिल्लाको सदरमुकामदेखि उत्तर तर्फको दुई घण्टाको बसको यात्राले गर्मी याममा पनि लुगलुग काम्ने जाडोमा पुगिने र सदरमुकामदेखि दक्षिण तर्फको एक घण्टाको बसको यात्राले प्रचण्ड गर्मीको रापमा सेकिने ठाउँमा पुगिने यो अनौठो विषम धरातलीय संगम हो मकवानपुर जिल्ला । शिशिर याममा हिउँ पर्ने उचाईयुक्त धरातल र प्रचण्ड गर्मीको देहाती भूभागले यो जिल्ला प्रचुर जैविक विविधतायुक्त गन्तव्यको रुपमा भएको प्रमाण दिन्छ । राजधानी भित्रने पर्यटन जो थोरै पैसा र समयमा मनोरञ्जन लिई समय विताउन चाहान्छन तीनका लागि मकवानपुर सुन्दर र उपयुक्त गन्तव्य हो ।
उपत्यका नजिकको छोटो दुरीमा रहेको मकवानपुर जिल्लासँग प्राकृतिक र भौगोलिक सम्पदा र संस्कृति विविधता र सुन्दरता गाँसिदा गाँसिदै पनि उपयुक्त प्रचारको माध्यम बन्न नसक्दा विकासमा पछि परेको छ । पछिल्लो समयमा आन्तरिक तथा बाह्य पर्यटकको आगमनमा केहि वृद्धि देखिएता पनि चलचित्र छायांकनको व्यावसायक केन्द्र बन्न सक्यो भने त्यो जिल्लाको अर्काे थप नयाँ श्रोत बन्न सक्दछ । चलचित्र पत्रकारकर्मीहरुको दृष्टि यस जिल्लामा पर्न थाल्यो भने जिल्लाको राजश्व आम्दानीमा एउटा थप नयाँ स्रोत बन्न सक्दछ भने अर्का तर्फ चलचित्र छायांकनको लागि सजिलो, छोटो र नयाँ गन्तव्य बनी चलचित्रमा सफल बन्न यसले सहयोग पु¥याउने विश्वास गर्न सकिन्छ ।
मकवानपुरका प्रमुख महत्वपूर्ण पर्यटकीय गन्तव्यहरुः
आजभन्दा करिब २७ सय वर्ष पहिले भारतीय सम्राट अशोक नेपाल भ्रमणमा आउँदा उनले चित्लाङ्ग गाविसमा स्थापना गरेको आशोककालीन चैत्य (चैत्य ल्व), राजा नरेन्द्र देवलाई राजा प्रमाणित गर्ने एक मात्र लिच्छिवकालीन शिलालेख आदिले यस जिल्लाको ऐतिहासिक महत्वको पक्षलाई उजागार गरेको छ भने पालुङ्ग र बज्रबाराही क्षेत्रमा फेला पारिएका विभिन्न औजार, मूर्ति, गोपाल तथा महिषपाल वंशीहरुका सन्ततिका रुपमा रहेका गोपाली जाति आदीले मकवानपुर जिल्ला प्राचिन कालदेखिनै एउटा महत्वपूर्ण क्षेत्रको रुपमा रहेको पुष्टि गर्दछ ।
मकवानपुर जिल्ला पौराणिक कालदेखि नै दक्षिणकाली–फर्पिङ–भीमफेदी–हेटौडा र थानकोट–टिष्टुङ÷पालुङ–भीमफेदी–हेटौडा हँुदै नेपालको तराई र दक्षिण एसिया जोड्ने जिल्लाको रूपमा रहँदै आएको छ । यसैगरी काठमाडौं उपत्यका हुँदै तिब्बतसम्म ओहोर–दोहोर गर्ने मार्गको रूपमा पनि रहँदै आएको छ । पौराणिक कालदेखि नै चिनियाँ यात्री हुयन–शाङ, सम्राट अशोक र उनको छोरी चारूमतीदेखि अरू हिन्दु र बौद्धयोगी÷योगीनीहरू, ऋषीमुनीहरू जस्ता धार्मिक पर्यटकहरू यहाँ आएका थिए भन्ने कुरा नेपालको इतिहासमा वर्णन गरेको पाइन्छ ।
इतिहासको पछिल्लो समयमा नेपाल र भारतका शासकदेखि सर्वसाधारणहरू भारतमा रहेको चारधाम, बोधगया÷शारनाथ र काठमाडाँैमा रहेको पशुपतिनाथ, बौद्धनाथ र स्वयम्भुनाथ दर्शन गर्ने धार्मिक तीर्थयात्रीहरू यही मकवानपुर जिल्ला भएर आवत–जावत गर्थे । राणाकालीन समयमा बेलायतकी महारानी समेत शिकारका लागि जाने र आराम गर्ने स्थान मकवानपुर पनि हो । चित्लाङ्ग गाविसमा अझै पनि तत्कालीन श्री ३ महाराजा र श्री ५ महाराजाहरुको दरवार छ भने भीमफेदीको हात्तिसार जहाँ अझै पनि थुप्रै हौदाहरु हुन । नेपाल र अङ्ग्रेजसँगको लडाईमा अङ्ग्रेजले हारेको ऐतिहासिक स्थान चिसापानीगढी र राजा पृथ्वीनारायण शाहका ससुराली सेन बंशी राजाहरुको दरबार रहेको मकवापुरगढी आन्तरिक तथा बाह्य पर्यटकहरूको आकर्षक गन्तव्य बन्ने गरेका छन् । यस्ता ऐतिहासिक स्थान र प्रसंगहरु, दृश्यहरु समेटी ऐतिहासिक चलचित्र छायांकन गर्न सकिन्छ ।
तराईको उष्ण हावापानी भएको समुद्री सतहको १६६ मि।को होचो देहाती भूभाग देखि हिउँ पर्ने २५८४ मिटर सम्मको शितोष्ण उच्च भूभाग र छोटो दुरीको यात्रामा पाईने विविध जैविक विविधता यस जिल्लाको प्रमुख विशेषता मध्येमा पर्दछन । त्रिभुवन राजपथको भैसे गाविस देखि सिमभन्ज्याङ्ग सम्मको उच्च भूभागमा पाईने सुनगाभा (अर्किड), लालिगुराँस र अग्ला, होचा हरियाली चुचुराहरु प्रकृति पे्रमीहरुका लागि अत्यन्तै सुन्दर एवं मनमोहक उपहार बनेर बसेकाछन । भैसे देखि दामन सम्मको यात्रामा त्रिभुवन राजपथको दायाँबायाँ पत्थर र रुखहरुमा फुलेका सुनगाभा र अन्य जंगली फुलहरुको आकर्षण, चिसो र कुहिरा भित्र हराउँदै यात्रा गर्दा लाग्दछ हामी अलौकिक मार्गबाट यात्रा गरिरहेका छौं ।
जिल्लाको उत्तरी क्षेत्र दामन जहाँ विश्वका सर्वोच्च आठ हिमशिखरहरुको दृश्यावलोकन गर्न बनाईएको नेपालकै पहिलो भ्यू–टावर, हिन्दु र बुद्ध दुवै धर्मालम्वीहरुका आस्थाका केन्द ऋषेश्वर महादेव जसको इतिहास बौद्ध धर्मगुरु पद्मसम्भवसँग जोडिएको छ र यहाँको दर्शन गर्नाले पुत्र लाभ हुन्छ भन्ने किंवदन्ती बोकेर बसेको छ । आग्रा, डाँडाखर्क र खैराङ गाउँ विकास समितिहरुमा रहेका रहस्यमय गुफाहरु र दामनबाट डाँडाखर्क गाउ विकास सम्म पर्वतीय श्रृखलाहरुबाट हिँड्दा दक्षिण तर्फ बादलका ताल बनेका दृश्यहरु र उत्तर तर्फ देखिने हिमश्रृखलाहरुले लाग्छ स्वर्गको देशमा आईपुगेछु ।
शितोष्ण वागवानी केन्द्र जहाँ रसिला र स्वादिला फलफुलका बोटविरुवाहरु, पर्वतीय उद्यानमा रहेको आकर्षक फूल तथा नौला नौला वनस्पतिहरु र सुन्दर हरियाली प्रकृति छटाहरुले ढाकेको चुचुराहरुले भन्नुस त कसको मन नहार्ला । पहाडको खोच र हरिया जंगलको बीचमा रहेको एसियाकै पहिलो मानव निर्मित इन्द्र सरोवरले भारतको नैनिताललाई बिर्साउछ । जलक्रिडा गरी मनोरञ्जन लिने र चिसो पानीको स्वादिलो माछाको लागि यो ठाउँ प्रख्यात छ । पूर्णिमाको रातमा यस तलाउमा जुनको मधुर प्रकाश पर्दाको मनमोहक दृश्यले नयाँ उमङ्ग र आनन्द दिलाउछ ।
भीमफेदी चिसापानीमा किम्वदन्ती वोकेर बसेको कालीतोप र महिलाले दर्शन गर्न बर्जित बटुक भैरव र हात्तिसार जस्ता स्थानहरु चलचित्रका नौला र आकर्षक छायांकनका क्षेत्रहरु हुन सक्दछन । १२ सहिदहरुको इतिहास बोकेर आफ्नो आभा फैलाई रहेको हेटौंडाको शहिद पार्क, भव्य स्मृति स्तम्भ, वन विज्ञान अध्यन संस्थानको संग्रालय, कुष्माण्ड सरोवर, वनस्खण्डी, नेपालकै पहिलो चुरे सुरुङ्ग थप आकर्षक स्थलहरु हुन । पुष्पलाल पार्क र हेटौडा औद्योगिक क्षेत्र, १०८ वटा गाईको मुखबाट जल निस्केको कुष्माण्ड सरोवर, त्रिवेणीधाम धार्मिक चलचित्र निर्माणका लागि नौला र थप आकर्षण बन्न सक्दछन ।
मकवानपुर चलचित्र छायांकनको लागि उत्कृष्ट पर्यटकीय महत्वको क्षेत्रः
सिमभञ्ज्याङ
महाभारत पर्वत शृङ्खलाको सम्भवतः दोस्रो उच्च शिखर सिमभन्ज्याङ मकवानपुर जिल्लाको सर्वाेच्च स्थान हो । यहाँ हिउँदमा हिम वर्षाको रमणीय दृश्य छाउँदा हिउँमा खेल्न आउनेको सङ्ख्या अत्यधिक रहन्छ । चैत्र बैशाखको उखरमाउलो गर्मीमा पनि यहाँ न्यानो कपडा जरुरी पर्दछ । प्रकृति शीत भण्डारको रुपमा यस क्षेत्रलाई लिन सकिन्छ । यस उच्च भूभागबाट तल हेर्दा लाग्छ हामी बादल माथिको गाउँमा छौं । तलबाट हुस्सो उड्दै आएर गम्ल्याङ्ग अंगालो हाल्दाको स्वर्गीय आनन्द अनुभूत हुन्छ ।
दामन भ्यू टावर
राजधानीलाई तराई जोड्ने सेतुको रुपमा रहेको त्रिभुवन राजपथको सर्वाधिक उचाइमा रहेको सिमभन्ज्याङमा अवस्थित दामन भ्यू टावर एसियाकै नेपालकै पहिलो दृश्यावलोकन टावरको कीर्तिमान कायम गरेको छ । सर्वाच्च शिखर सगरमाथा, पश्चिममा अन्नपूर्ण तथा धौलागिरि लगायत नेपालका उच्च ८ हिमशृङ्खलाहरुको सहज दृश्यावलोकन गर्न सकिने दमन हिल टप एरिया हो ।
सुनगाभा र लालिगुराँस पैदल मार्ग
सिमभन्ज्याङबाट कुलेखानी÷देउराली र दामनबाट मार्खु ईन्द्रसरोवर जाने पैदलमार्ग र चित्लाङ्ग हुदै चन्द्रागिरि÷थानकोट पुग्न सकिन्छ । चन्द्रागिरि पर्वत र त्यहाँबाट उपत्यकाको दृश्य अवलोकन गर्न सकिन्छ ।
ऋषेश्वर महादेव
सिमभन्ज्याङ र दामनको बीचमा प्रशिद्ध ऋषेश्वर महादेवको मन्दिर रहेको छ । हिन्दु र बौद्ध धर्मावलम्वीहरुद्वारा समान श्रद्धाले पुजिने यो मन्दिरको प्राचीन सन्दर्भ बौद्ध धर्मगुरू पद्मसम्भवसँग गाँसिएको तथ्यले यस स्थानको धार्मिक महत्व अद्वितीय मानिन्छ । यो क्षेत्र ध्यान केन्द्रको रुपमा पनि चिनिन्छ । तत्कालीन राजा त्रिभुवनले यहाँ पुजा गरी छोरा वरदान मागेको र राजा महेन्द्र जन्मेको भन्ने किंवदन्ती पनि छ ।
अर्किड (सुनगाभा) तथा लालीगुराँसको मनोरम भण्डार
यस जिल्लाको महाभारत पर्वत शृङ्खला सुनगाभा तथा लालीगुराँसको प्राकृतिक सङ्ग्रहालयका रुपमा लिन सकिन्छ । विविध जाति तथा रङका लालीगुराँसका लागि समेत प्रशिद्ध यस क्षेत्रमा हालसम्म गरिएको अध्ययन अनुसार नेपालमा पाइने ३५० प्रजातिका सुनगाभा मध्ये १७५ प्रजातिका सुनगाभाहरु सिमभन्ज्याङ क्षेत्रमा पाइएको छ । त्रिभुवन राजपथ दायाँबायाँ भिरपाखा, रुख र चट्टानहरुमा फुल्ने विभिन्न किसिमका सुनगाभा र लालिगुरासँका फुलहरु हेर्दा यस राजपथलाई पर्यटकीय मार्गको रुपमा विकास गर्नु पर्दछ ।
पर्वतीय वनस्पति उद्यान तथा शितोष्ण वागवानी केन्द्र
यो क्षेत्रमा विभिन्न वनस्पती, फलफूल तथा खाद्यान्न बालीहरुको अनुसन्धान केन्द्रको रुपमा विकास गरिएको स्थान हो ।
सम्राट आशोककालीन चैत्य, होमस्टे र बाख्राको चिज
सम्राट असोकले स्थापना गरेको चैत्य ल्वोहः जसले सम्राट अशोकको नेपाल भ्रमणको जीवन्त इतिहास बोकेको छ र राजा उदय देवको संवत ४५ को शिलालेखको अवस्थितिले पनि यो क्षेत्र कति प्राचीन रहेछ भन्ने अन्दाज गर्न सकिन्छ । गजुर सहितको शिवालय, सात धारा, नेपालकै ठूलौ चौर (भेडी फाराम) र ट्राउट माछा पालन यहाँका चर्चित अवलोकन गर्न लायक पर्यटकीय गन्तव्य हुन । नेपालकै एकमात्र बाख्राको चिज उत्पादन केन्द्र र ओलिभ आयलको यहाँ खेती गरिन्छ । यहाँ होमस्टेको पनि व्यवस्था छ । उपत्यका बाहिर पहिलो पटक विस २००२ सालमा स्थापना गरिएको प्रहरी पोष्टले पनि ऐतिहासिक कालमा नै यो स्थान कति सम्वेदनशील र महत्व रहेछ भन्ने दर्शाउँदछ ।
कुलेखानी चित्लाङ थानकोट बाटो हुँदै तामदानमा बोकेर पुशपति दर्शन गर्न जान लागेका यात्रुहरुको हृदयविदारक दृष्य देखेर महाकवि लक्ष्मी प्रसाद देवकोटाले चित्लाङ गाविसको गुर्जुधाराको डिलमा बसेर यात्री कविता लेखेका हुन भनिन्छ ।
टिष्टुङ, पालुङ ऐतिहासिक क्षेत्र
बज्रबाराही र यसका आसपासका क्षेत्रहरुमा प्राप्त लिच्छिविकालीन अभिलेखहरु र उपलब्ध अभिलेखहरुले यो क्षेत्र ऐतिहासिक रुपमा अत्यन्त महत्वपूर्ण क्षेत्रको रुपमा रहेको प्रमाणित हुन्छ । सतीदेवीको पीठ पतन भई उत्पत्ति भएको उन्मतेश्वर महादेवको मन्दिर र राजा अंशुवर्माको दरवार आदि यसका थप प्रमाण हुन । बज्रबाराही मन्दिरमा प्रत्येक तीन वर्षमा तीन दिन मनाईने बज्रबाराही अजिमाको मेला, पालुङ्ग, बज्रबाराही क्षेत्रमा मनाईने बाह्र वर्षे नाच, राजारानी नाच आदि यस क्षेत्रका अद्वितीय नाच तथा मेलाहरु हुन । यी नाचहरु चार सय वर्ष पहिले देखि देखाउँदै आएको भनाई छ । टिष्टुङमा एउटै ढुङ्गाको खुकुरीको आकृति बनाइएको छ । साथै चर्चित नर्वे ढुङ्गा रहेको छ । जुन स्थानमा फोटो खिच्न पर्यटकहरुको जाने गर्दछन् ।
इन्द्रसरोवर ताल
मार्खु र कुलेखानी गाविस अन्तर्गतका गहिरो खोँचमा बाँध बाँधी नदीनालाको पानी सङ्कलन गरी सञ्चालन भएको कुलेखनी जलविद्युत परियोजनाको जलासय इन्द्रसरोवर आफैँमा एक नौलो नमूना हो । ७ किमि क्षेत्रफलमा फैलिएको मानव निर्मित ईन्द्रसरोवर एसियामा नै पहिलो मानिन्छ । यो स्थान जलविहार तथा चिसो माछाको लागि पनि प्रशिद्ध छ । पूर्णिमाको रात सरोवरमा वरपरका पहाड, हरिया जङ्गल र तारायुक्त आकाश प्रतिविम्वित हुने अचम्मको मनमोहक दृश्य देखिन्छ ।
हेटौंडा बजार, सहिद स्मारक, पाथीभरा
हेटौंडा बजार नेपालकै पहिलो सफा र स्वच्छ नगर, हिरत नगर हो । हेटौडा स्थित शहिद स्मारकको २५ टनको एउटै ढुङ्गमा कुदेको १२ जना प्रजातन्त्रका योद्धाहरुको शीला, यूरोपमा पुगेजस्तो भान दिने आकर्षक शहिद स्मृति स्तम्ब, आकर्षक बगैचा, मिनि चिडियाघर र भैरव डाँडामा स्थापित पाथीभराको देवीको मन्दिर र ५२ फूटको अग्लो त्रिशुल र त्यहाँबाट देखिने हेटौंडा बजारको दृश्य चललित्र छायांकनको लागि अत्यन्त उपयुक्त छ ।
मकवानपुरगढी, खुडेधार पैदल मार्ग र चिसापानी गढी
हेटौंडाबाट करिव आधा घण्टाको दुरीमा रहेको तत्कालीन सेन वंशको दरवार, पृथ्वी नारायण शाहको ससुराली ऐतिहासिक गढी । अंग्रेज र मसुलमान शासक मिरकासिमसँग गरेको युद्धको युद्धस्थल, वंशी गोपालको मूर्ति, गढीबाट दक्षिण तर्फ देखिने ठूलो फाँट, गुफा थान, भीमफेदी गाविस स्थिति काठमाडौं जाने बाटैमा रहेको सामरिक दृष्टिले अत्यन्त महत्वराख्ने चिसापानी गढी र काली तोप र बटुक भैरव मन्दिर रहेका छन् । पृथ्वी नारायण शाह चिसापानी गढीबाट बुढीचौरको खुडेँधार पैदलमार्ग हुदैं मकवानपुरगढी दरबार जाने भएकाले खुडेँधार पैदलमार्ग पर्यटकीय गन्तव्यको रुपमा रहेको छ ।
कुष्माण्ड सरोवर, वनस्खण्डी
बजार भन्दा करिव ३ किमि पश्चिम दक्षिण कोणमा अवस्थित १०८ गौमुखी धाराबाट अनवरत बगि रहने जल, बाटिका, कुष्माण्ड सरोवर, तीन नदीको संगमस्थल, उत्तर बाहिनी नदी र बजार देखि पूर्व उत्तर कोणमा अवस्थित वनस्खण्डी मन्दिर बाग बगैचा आदि ।
मूर्ति बगैचा र जुरेथुम
हेटौंडा बजारबाट १७ किमि पूर्व हर्नामाडीको उच्च समथर भूभागमा मूर्ति कलाको कार्याशालाको अवसरमा स्वदेशी तथा विदेशीहरुद्धारा तयार पारिएको विभिन्न आकार प्रकारका पत्थरका २२ वटा मूर्ति र गोरक्षश्वर ताल । हटियाको जुरेथुमको अग्लो भूभागमा स्थापना भई रहेको ५२ फुटको वंशी गोपालको मूर्ति र बगैचा ।
औद्योगिक क्षेत्र
नेपालकै पुरानो र ठूलो हेटौंडा औद्योगिक क्षेत्र जहाँ एक सय देखी दुईसय वटा विभिन्न खाले उद्योगहरु छन । बाघ बगैचाहरु छन ।
पिस पार्क, शालक पार्क, आमाघर नेपाल, पुष्पलाल पार्क
हेटौंडा ६ शान्तिनगर अवस्थित पिस पार्क निर्माणको अन्तिम चरणमा रहेको छ । यहाँ शिव लिङ्ग सहित महादेवको मन्दिर सहित वनभोज स्थलको रुपमा बनेको छ । त्यस्तै, हेटौंडा १७ मा चुच्चेखोला सामूदायिक वनले निर्माण गरेको शालक पार्कपनि पर्यटकीय गन्तव्य बन्दै आइरहेको छ । चुनडाँडासँग जोडिएको यो पार्कमा दैनिक भ्रमण गर्न आउनेहरु बढ्दो छन् ।
सिनेमा छायांकनको हिसाबले यो पार्क परिचत बन्दै गएको छ । त्यस्तै, हेटौंडा ४ मा रहेको पुष्पलाल पार्क हेटौंडाकै पुरानो पार्क हो । यस पार्कमा डुङ्गा सहित मनोरम बगैचाका साथ सञ्चालनमा रहेको छ । मनहरी गाउँपालिकामा रहेको आमाघर नेपाल पार्क मकवानपुरको पछिल्लो पर्यटकीय गन्तव्यको रुपमा सञ्चालनमा आएको छ ।
लटरम्भेश्वर मन्दिर
मकवानपुरमा पछिल्लो समय चर्चामा आएको मकवानपुरको बकैया र भीमफेदी गाउँपालिकाको सिमानामा रहेको लटरम्वेश्वर महादेव मन्दिर आन्तरिक पर्यटकका लागि एक गन्तव्यको रुपमा रहेको छ । डब्लु डाँडाको रुपमा चिनिदैं आएको उक्त मन्दिर पैदलमार्ग हुदैं जानुपर्नेछ । सामाजिक सञ्जालमा भाइरल भएको उक्त स्थानमा हजारौंको संख्यामा आन्तरिक पर्यटक जाने गर्दछन् । अग्लो स्थानमा रहेको उक्त मन्दिरबाट आकाश खुला भएको बेला उपत्यका र तराईका विभिन्न भूभागहरु देखिनेछ ।
मकवानपुर जिल्ला पर्यटकीय दृष्टिले अत्यन्त उर्वर जिल्ला हो । यहाँका पर्यटकीय गन्तव्यमा सहजै र सरलै ढंगबाट पुग्न सकिन्छ र थोरै समय र खर्चमा पानि मनग्गे आनन्द लिन सकिन्छ । संघीय राजधानीबाट नजिक छ । सस्तो खानपान र बसाई, यातायातको सुविधा, सूचना र सुरक्षाको बन्दोबस्त राम्रो छ । विगतमा भन्दा वर्तमानमा आन्तरिक तथा बाह्य पर्यटकहरु आउने क्रम बढेको छ साथै मकवानपुर जिल्लालाई समेटी चलचित्रहरु निर्माण हुन थालेका छन । यहाँका पर्यटकीय गन्तव्यहरु चलचित्रमा छाउन थालेका छन ।
चलचित्र छायांकन गर्नेहरुलाई सेवा सुविधा र अवसर प्रदान गर्दै छायांकन सेवा शुल्क लिने र तिर्ने वातावरण विकास गर्ने हो भने ग्रामीण क्षेत्रहरुमा थप आम्दानीको स्रोत सिर्जना हुन सक्दछ । मकवानपुरको परिवेशलाई समेटी चलचित्रहरु निर्माण गर्दा यस जिल्लाका बासिन्दाको पहिलो आकर्षण पनि बन्न जादो रहेछ जसले गर्दा चलचित्रलाई पनि थप आम्दानी हुन जान्छ । यसर्थ यस मकवानपुर जिल्लालाई चलचित्र छायांकनको प्राकृतिक स्टुडियो बनाउन सबैको साथ र सहयोग आवश्यक छ ।
तस्बिरहरु : राजन कटुवाल र गुगल