हेटौंडा \ अहिले नेपाली कांग्रेस मकवानपुरमा पार्टी परित्याग गर्ने लहर चलेको छ । पुराना नेता भरत पराजुलीले पार्टीभित्र निश्चित व्यक्तिहरु हावी भएको भन्दै असन्तुष्टि व्यक्त गरेर पार्टी परित्याग गरेपछि कांग्रेस मकवानपुरमा खैलाबैला मच्चियो । तीस वर्ष सम्म कांग्रेसको राजनिति गरेका पराजुलीको बर्हिगमनलाई बेवास्ता गर्दै अल्झिएको मकवानपुरे कांग्रेसले अर्का एक पुराना कांग्रेस नेतालाई पनि बर्हिगमनमा पारीसकेको छ ।
नेतृ रिता खनालले पनि केही दिन अघि कांग्रेस परित्याग गर्दै विपी कांग्रेस रोजेकी छिन् । मकवानपुरे कांग्रेसमा हक्की र क्षमतावान् स्वभावकी नेतृ खनाल कांग्रेसबाट बर्हिगमन हुदाँ कुनै कांग्रेस नेताले उनलाई रोक्न त के सोधपुछमा समेत ध्यान दिएन । पार्टी हाक्न सक्ने क्षमता भएकी नेतृ खनाल लगभग तीन दशकदेखी कांग्रेसमा क्रियाशील थिइन् । उनी मकवानपुरे कांग्रेसको मात्र होइन राष्ट्रिय स्तरमै नेतृत्व लिन सक्ने क्षमता भएकी नेतृ हुन् ।
उनलाई कांग्रेसबाट बर्हिगमन गर्न कांग्रेस मकवानपुरमा एउटा गिरोह नै परिचालित भएको थियो । उनलाई कांग्रेसको आन्तरिक निर्वाचनमा बुथ प्रतिनिधिमा हराउने निकै प्रयास रहेपनि त्यो भने सफल हुन सकेको थिएन् । उनलाई महाधिवेशन प्रतिनिधिमा गिरोह नै लागेर हराएपछि नेतृ खनालले कांग्रेसभित्र अब निष्ठाको राजनिति सकिएको बताएकी थिइन् । स्वस्थ प्रतिस्पर्धा पनि रचनात्मक हुनुपर्नेमा आफुलाई पत्तासाप गराउने हिसाबले कांग्रेस भित्र चलखेल भएपछि उनले अब शेर बहादुर देउवा नेतृत्वको कांग्रेसमा बस्नुको कुनै तुक नरहेको भन्दै विपी कांग्रेसमा लागेको बताएकी छिन् ।
स्थानीय चुनावमा त परैजाओस् आगामी मंसिर ४ गते हुने भनीएको प्रतिनिधि सभाको निर्वाचनमा समेत नेतृ खनाललाई बेवास्ता गर्दै मकवानपुर कांग्रेसले उनको मजाक उडाएको बुझ्न सकिन्छ । हिजो आएका चैते कांग्रेसीहरुको लाइनलस्कर नाम निर्वाचनको लागि सिफारिस भइरहदाँ नेतृ खनाल नाम कहिँकतै उल्लेख नहुनु मकवानपुर कांग्रेसको ठुलो भुल हो । यस हिसाबले कांग्रेसभित्र लामो समयदेखी योगदान गर्दै आएका पुराना नेताहरु पराजुली र खनाल पाखा लागे सँगै अन्यनेता गणहरु पनि व्यक्तिवादी कांग्रेस आरोप लगाउँदै कांग्रेस छाड्ने लाइन लस्करमा पुगिसकेको चर्चा हेटौंडा बजारमा सुरु भइसकेको छ ।
गएको स्थानीय निर्वाचनमा हेटौंडा उपमहानगरको मेयरमा आनन्दराम पराजुलीलाइ पाखा लगाउँदै गठबन्धनको नाममा पदपरित्याग गरेको मकवानपुरे कांग्रेस कार्यकर्ताहरुमा त्यति बेला देखी खिन्न मन भएको थियो । इतिहास रच्ने समयमा एकीकृत समाजवादीलाई मेयर चढाएपछि उपमेयरमा चित्त बुझाएको मकवानपुरे कांग्रेसले आगामी निर्वाचनमा आनन्दराम पराजुलीलाई टिकट नदिएको खण्डमा अर्को पहिरो मकवानपुर कांग्रेसमा जान सक्ने टट्कारो देखिन्छ । मकवानपुर कांग्रेस कहाँबाट र कोबाट परिचालित छ भन्ने कुरा प्रष्ट बुझेको भन्दै पुराना कांग्रेसीहरुले यसको खुलेर विरोध गरिरहेका छन् । कांग्रेस कार्यकर्ताहरुमा वितृष्णाको भाव झल्कन थालेको छ ।
नेता इन्द्र बहादुर बानियाँले रोपेको मकवानपुर कांग्रेसको इतिहास अहिले छताछुल्ल हुनेगरी पार्टी परित्यागको लावालस्कर हुन थालेपछि केही कांग्रेसी नेताहरुले चिन्ता लिन थालेका छन् । उनीहरुले कांग्रेस कार्यकर्ता भित्र वितृष्णा हुनुमा राष्ट्रिय राजनिति प्रभाव हुनु बताएका छन् ।
२०७४ को स्थानीय तथा प्रतिनिधि सभाको निर्वाचनदेखी भड्कीएका कांग्रेसी कार्यकर्ताहरुले रुख चिह्नमा मतदान गर्न भन्दा पनि अन्य दलको चुनाव चिह्नमा मतदान गर्न कांग्रेसको हविगत बनेको बताएका छन् । उनीहरुले गठबन्धनको नाममा कहिले हलोमा, कहिले गाईमा कहिले हसिँया हतौडा चुनाव चिह्नमा मतदान गर्नुपर्ने बाध्यता पार्टीले जन्माएपछि कार्यकर्ताहरु यता न उता भएको महशुस गरेका छन् । यसको जिम्मेवारी अब कस्ले लिने भन्ने प्रश्न उठ्न थालिसकेको छ ।