हेटौंडा \ बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाको आयोजनामा आत्महत्या रोकथाम सम्बन्धी सचेतनामुलक कार्यक्रम गरेर मनाइएको छ । हेटौंडामा विभिन्न नारा उल्लेख भएका प्लेकार्ड सहित प्रभातफेरी गरेर आत्महत्या रोकथाम सम्बन्धी सचेतनामुलक कार्यक्रम गरिएको हो ।
प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्यको अध्यक्षता तथा प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेको प्रमुख अतिथ्यतामा कार्यक्रम गरिएको थियो ।
हेटौंडाको बुद्धचोकबाट सुरु भएको प्रभातफेरीमा प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री कृष्ण प्रसाद शर्मा खनाल, सामाजिक विकास मन्त्री कुमारी मोक्तान, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, हेटौंडा उपमहानगरपालिकाका मेयर मिना कुमारी लामा, मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डे, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम लगायतकाको सहभागिता रहेको थियो ।
कार्यक्रममा स्वास्थ्यकर्मी, स्वास्थ्यका विद्यार्थीहरु, स्वंमसेविका, टोलविकासका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । प्रभातफेरीमा जीवनलाई आत्मसात गर आत्महत्या नगर, समाज बलिऔं, आत्महत्या बन्द गरौं, जीवन सुन्दर छ यसलाई मौका दिनुहोस, आत्महत्याले परिवार, समाज र राष्ट्रलाई नष्ट गर्छ जस्ता नाराहरु लगाइएको थियो ।