हेटौंडा \ हेटौंडा उपमहानगरपालिका वडा नम्बर १४ बदेलधापमा रहेको मञ्जुश्री बचत तथा ऋण सहकारी संस्थाले आव २०७८/०७९ मा ५ करोड ३५ लाख ७७ हजार ८४७ रुपैयाँको कारोबार गरेको छ । सोमबार संस्थाको १५ औं वार्षिक साधारण सभा गर्दै सहकारीले वार्षिक रुपमा गरेका आर्थिक तथा सामाजिक कामहरुको प्रतिवेदन पेश गर्दै सहकारीले आफ्ना शेयर सदस्यलाई ४ करोड १४ लाख ९० लाख ४७३ ऋण लगानी गरेको छ ।
संस्थाका अध्यक्ष चन्द्रमाया तामाङको सभाध्यक्षतामा भएको सभामा हेटौंडा उपमहानगरका कार्यवहाक मेयर राजेश बानियाँको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै बानियाँले सहकारीहरु अब उत्पादन तर्फ उन्मुख रहने र कृषि क्षेत्रमा बढी लगानी गर्नुपर्ने बताए । यस वडा नगरभित्रकै वडाहरु मध्ये उत्कृष्ट वडा घोषित भएको छ । सहकारीका माध्यमबाट विभिन्न कामहरु गर्न उपमहानगर तत्पर रहेको बताउदैं बानियाँले सहकारी र नगरपालिका सहकार्यमा काम गरिने समेत बताए ।
कार्यक्रममा वडा १४ का अध्यक्ष दीपक खड्का, जिल्ला बचत तथा ऋण सहकारी संघका कोषाध्यक्ष विष्णुमाया लामाको विशेषआतिथ्यता रहेको थियो । कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका प्रमुख रामेश्वर अर्याल, भुटनदेवी साकोसका अध्यक्ष चमेलीमाया सिंजाली मगर, जनचेतना साकोसका अध्यक्ष जानुका दुवाडी, लेखा संयोजक श्रीमाया थिङ, संस्थापक अध्यक्ष सानु थिङ लामा लगायतकाको आतिथ्यता रहेको थियो ।
सभामा सहकारीले विभिन्न विधामा शेयर सदस्यलाई सम्मान गरेको थियो । सहकारीले जेष्ट शेयर सदस्य सञ्चमाया गोङ्वा, प्रेम बहादुर मोक्तान, गणेश कुमारी डंगोल, गणेश बहादुर थिङ, धनमाया बज्यु, ठुली माया बज्यु, मेघ कुमारी ढुङ्गाना, आइतीमाया आले, भीम बहादुर थापामगर र ठुलीमाया थिङलाई सम्मान गरिएको थियो ।
सोही सभामा असल ऋणी कुमारी मोक्तान, मिना तामाङ, मनोज भण्डारी, असल बचतकर्ता कविता माया घलान, दैनिक बचतकर्ता रामप्रसाद ओली, खुत्रुके बाल बचतमा रिजन गोले र मयुर हिमश्रृंखला समूह नयाँबस्ती र शक्तिदेवी समूह बंदेलधापलाई सम्मान गरिएको थियो ।
६६ लाख ७० हजार एक सय शेयरपुजीँ रहेको सहकारीमा बचत निक्षेप ३ करोड ९० लाख ५१ हजार ४८५ रुपैयाँ रहेको व्यवस्थापक अञ्जु अनिषा थिङले बताइन् । सहकारीमा एक हजार ३११ जना शेयर सदस्य रहेका छन् । जसमा ४४२ जना पुरुष रहेका छन् ।