हेटौंडा \ सहकारीको माध्यमबाट महिलाहरुको क्षमतासँगै नेतृत्व विकासमा विगत दुई दशकदेखि काम गर्दै आइरहेको ग्रामीण महिला सेवा केन्द्रको २१ औं साधारणसभा भएको छ । हेटौंडास्थित केन्द्रमा संस्थाले २१ औं साधारणसभा र ९ औं अधिवेशन गरेको हो ।
अधिवेशनबाट सुलोचना स्याङतान संस्थाको अध्यक्षमा निर्विरोध चयन भएकी छन् । यसअघि कोषाध्यक्ष रहेकी स्याङ्तानको नेतृत्वमा अधिवेशनले ९ सदस्यीय कार्य समिति सर्वसम्मतीमा चयन गरेको हो । उपाध्यक्षमा लक्ष्मी मोक्तान चयन भएकी छन् । उनी संस्थाकी पूर्वअध्यक्ष हुन् ।
संस्थाको सचिवमा अचला शर्मा र कोषाध्यक्षमा देवकी चौलागाई चयन भएकी छन् । सदस्यहरुमा सिता घलान, लक्ष्मी माया थिङ, सरिता सापकोटा, पञ्चमाया स्याङ्तान र एलिजा पुडासैनी चयन भएको संस्थाका कार्यक्रम संयोजक दिपक न्यौपानेले जानकारी दिए । लेखा समिति संयोजकमा मेनुकाकुमारी न्यौपाने चयन भइन् ।
जिल्ला समन्वय समितिका प्रमुख ललितबहादुर घलानको प्रमुख आतिथ्यता तथा संस्थाकी अध्यक्ष उर्मिला कार्कीको सभाध्यक्षतामा कार्यक्रम गरिएको हो । अध्यक्ष कार्कीले संस्थागत प्रतिवेदन, सचिव अचल शर्माले प्रगति प्रतिवेदन र कोषाध्यक्ष सुलोचना स्याङ्तानले आयव्यय प्रतिवेदन साधारणसभामा प्रस्तुत गरेका थिए ।
संस्थाकी उपाध्यक्ष मेनुका घिमिरेले स्वागत मन्तव्य राखेको कार्यक्रममा हेटौंडा-५ की वडा सदस्य रञ्जिता सिलवाल, केन्द्रकी पूर्वअध्यक्ष शर्मिला श्रेष्ठ, निवर्तमान अध्यक्ष लक्ष्मी मोक्तान, संस्थाका कार्यक्रम संयोजक दिपक न्यौपाने, गैसस महासंघ मकवानपुरकी उपाध्यक्ष रमिला सापकोटालगायतले आफ्नो धारणा राखेका थिए ।