हेटौंडा \ बागमती प्रदेश प्रहरीको चाडपर्व बडा दशै, शुभ दिपावली र छठ लक्षित विशेष सुरक्षा योजना बुधबार एक कार्यक्रमका वीच सार्वजनिक गरिएको छ । प्रत्यक्ष एवं भर्चुअल माध्यमबाट उपस्थित मातहत कार्यालय प्रमुख समेतको उपस्थितिमा बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्यबाट चाडपर्व लक्षित विशेष सुरक्षा योजना सार्वजनिक गरिएको हो ।
चाडपर्व शुरु भइसकेको अवस्थामा चाडपर्वको समयमा हुने अपराधीक गतिविधिहरुलाई न्युनिकरण एवं नियन्त्रण गरी बागमती प्रदेश अन्तर्गतका आम नागरिकले सुरक्षित रुपमा चाडपर्व मनाउने वातावरण तयार गर्ने अभिप्रायले विशेष सुरक्षा योजना तयार गरी गरिएको जनाइएको छ ।
विशेष सुरक्षा योजना अनुरुप बागमती प्रदेश अन्तर्गतका १० वटा जिल्लाहरुमा प्रभावकारी सुरक्षा व्यवस्थापनका निमित्त अन्तराष्ट्रिय एवं प्रदेश प्रवेश गर्ने सिमा नाकामा तालिम प्राप्त प्रहरी कुकुर सहित नियमित तथा सरप्राईज चेकजाँचको व्यवस्था मिलाउने, नियमित क्युआरटी टोली परिचालन गर्ने, नियमित मोवाईल गस्ति परिचालन गर्ने, नियमित पिकेट डिउटीमा थप परिचालन गर्ने, प्रमुख धार्मिक स्थल, वैंकिङ तथा वित्तिय संस्थामा प्रहरी परिचालन गर्ने, जिल्ला प्रशासन कार्यालयसंगको समन्वयमा कालो बजारी तथा कृतिम अभाव सिर्जना गर्नेलाई नियन्त्रण गर्न बजार अनुगमनको व्यवस्था मिलाउने, अन्य सुरक्षा निकाय समेतको सहभागीतामा एलआरपी र एसआरपी परिचालन गर्ने, हुन गर्न सक्ने झैझगडा तथा जुवातास एवं घरेलु मदिरा नियन्त्रण गर्ने, लागु पदार्थ तथा मादक पदार्थ सेवन सम्बन्धित चेकजाँचको व्यवस्था मिलाउने जस्ता कामहरु ग्रिने प्रवक्ता एंव प्रहरी वरिष्ठ उपरीक्षक दीपक रेग्मीले बताए ।
उनले बसपार्कमा महिला प्रहरी र ट्राफिक प्रहरी सहितको यात्रु सहायता कक्ष स्थापना गरी २४ औं घण्टा प्रहरी परिचालन गर्ने, सवारी दुर्घटना न्यूनिकरणका लागि नियमित राजमार्ग गस्ति परिचालन गर्ने, सवारी साधनहरुका गति नियन्त्रणका लागि राडरगन सहितको विशेष ट्राफिक चेकिङ गर्ने, प्रमुख राजमार्गहरुमा रात्रीकालिन वेश स्थापना गर्ने, साथै सुरक्षा योजना अनुसार मातहत कार्यालयबाट काम कारवाही भए नभएको सम्बन्धमा प्रदेश प्रहरी कार्यालयबाट नियमित अनुगमन एवं सुपरिवेक्षणको व्यवस्था मिलाउने बताएका छन् । सुरक्षा योजना अनुरुप जनपद, ट्राफिक तथा सादा पोशाकमा समेत गरी जम्मा पाँच हजार ३३२ जना प्रहरी टोली परिचालित हुनेछन रेग्मीले बताए ।
प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्यले विशेष सुरक्षा योजनामा उल्लेख गरिएका गतिविधिहरुलाई प्रभावकारी कार्यान्वयन गर्नुका साथै चाडपर्वको समयमा हुन सक्ने संभावित अपराधहरुको न्युनिकरणमा आ(आफ्नो कार्यालयले तोकिएको संख्यामा प्रहरी परिचालनको लागि निर्देशन दिएकी छिन् । विशेष सुरक्षा योजनाले प्रहरी परिचालनमा मार्गनिर्देशन दिई आम नागरिकले सुरक्षित तवरले चाडपर्व मनाउने वातावरण सिर्जना हुनेमा उनले विश्वास समेत गरेकी छिन् ।