सिधाखबर \ सिमान्तकृत यौनिक तथा लैङ्गिक अल्पसंख्यक विषयक हेटौंडामा शनिबार अन्तरक्रिया कार्यक्रम भएको छ । ब्लु डाइमण्ड सोसाइटी मकवानपुरको आयोजनामा पत्रकारसँग यौनिक तथा लैङ्गिक अल्पसंख्यक विषयक छलफल तथा अन्तरक्रिया कार्यक्रम भएको हो ।
यौनिक तथा लैङ्गिक अल्पसंख्यक व्यक्तिलाई छोटकारीमा क्रयेर भन्ने गरिन्छ भन्दै प्रिटर राईले आफ्नो कार्यपत्र प्रस्तुत गरेकी थिइन् । उनले सर्वोच्च अदालतको गरेको निर्णय ऐतिहासिक भएको भन्दै नेपालको संविधान २०७२ मा धारा १२ ले लैङ्गिक पहिचान सहितको नागरिकताको अधिकार सुनिश्चित गरेकोमा हाम्रो समुदायलाई सहज भएको बताइन् ।
सन् २०१३ मा नागरिकता र २०१५ मा राहदानीमा लिङ्गको महलमा अन्य राखी वितरण गरिएकोले हाम्रो अभियानलाई सफलता तर्फ उन्मुख रहेको बताइन् । उनले सञ्चारकर्मी समक्ष जनगणनामा लैङ्गिक अल्पसंख्यको गणना हुने, यौनिक तथा लैङ्गिक अल्पसंख्यक विषयमा संचार माध्यममा विस्तारै सचेतना गरिदैं आएको बताएकी थिइन् ।
उनले राजनितिक क्षेत्रमा यौनिक तथा लैङ्गिक अल्पसंख्यक क्षेत्रमा व्यक्तिहरु विस्तारै अघि बढिरहेको भन्दै अन्य देशमा नेतृत्व तहमा पुगे पनि नेपालमा भने संविधान सभा सदस्यको रुपमा सुनील बाबु पन्त पुगेको बताइन् । उनले नेपालको राजनितिमा विभिन्न ठुला दलहरुले आफ्नो विधान तथा घोषणा पत्रका यौनिक तथा लैङ्गिक अल्पसंख्यकको बारे कहीँ कतै उल्लेख नभएकोमा दुख व्यक्त गरिन् । विधानमा परिभाषामा लैङ्गिक अल्पसंख्यक सिमान्तकृत समुदाय भन्नाले यौनिक तथा लैङ्गिक अल्पसंख्यक भनेर नराखेकोमा हामी दुखी भएको बताइन् ।
विधानमा मात्र नभई निर्वाचनको बेला घोषणा पत्रमा समेत यौनिक तथा लैङ्गिक अल्पसंख्यक क्षेत्रमा व्यक्तिलाई गाँसवास, कपास, शिक्षा, स्वास्थ्य, रोजगारमा कतै नराखिएको बताइन् । सरकारले आफ्नो क्षेत्रलाई समेटिएर आफ्नो विधान, घोषणा पत्रमा यी विषय समेट्न आग्रह गरेकी छन् । देश निर्माणमा हाम्रो पनि भूमिका रहेकाले हाम्रो क्षेत्रलाई पनि रोजगार, गाँसबाँस कपास, स्वास्थ्य र शिक्षामा अवसरका साथै संरक्षणमा ध्यान दिन आग्रह गरेकी छिन् ।
संचारकर्मीहरुले समाचार लेख्दा वा सफलताको कथा लेख्दा शब्द चयनमा ख्याल गर्न आग्रह गरेकी छिन् । लेख्नुपर्ने शब्द र लेख्न नहुने शब्दबारे जानकारी दिदैं राईले यौनिक तथा लैङ्गिक अल्पसंख्यकको मकवानपुरको अवस्थाबारे जानकारी गराइकी थिइन् । उनले मकवानपुरका खुलेर आउनेको संख्या पाँच हजार पुगेको बताइन् ।
सुरुवाती अवस्था र अहिलेको अवस्थामा हामीलाई हरेक स्थान र परिवेशमा हेर्ने दृष्टिकोण फरक रहनुका साथै मानिसहरुको स्वभाव परिवर्तन नभएको बताइन् । सञ्चारकर्मीहरुबाट उठेका प्रश्नहरुको जवाफ भने ब्लु डाइमण्ड सोसाइटीका कार्यक्रम संयोजक किरण थापाले दिएकी थिइन् ।