हेटौंडा \ हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ मा रहेको हातेमालो बचत तथा ऋण सहकारी संस्थाले आव २०७८/०७९ मा ५९ करोड २३ लाख ४० हजार ५६३ रुपैयाँको कारोबार गर्न सफल भएको छ । शनिबार १६ औं वार्षिक साधारण सभा गर्दै सहकारीले आर्थिक तथा सामाजिक प्रगति प्रतिवेदन पेश गर्दै सहकारीले आफ्ना शेयर सदस्यलाई ५० करोड ९ हजार रुपैयाँ ऋण लगानी गरेको बताइएको छ ।
हेटौंडा उपमहानगरका कार्यबहाक नगर प्रमुख राजेश बानियाँको प्रमुख अतिथ्यतामा भएको सभामा संस्थाका अध्यक्ष हरिप्रसाद पौडेलको सभाध्यक्षता रहेको थियो ।
सहकारीले सभाको अवसरमा विभिन्न विधामा सम्मान तथा पुरस्कार प्रदान गरेको छ । सहकारीले जेष्ठ शेयर सदस्य तर्फ केशर सिंह महत र नीलकुमारी संजेललाई सम्मान गरेको छ भने उत्कृष्ट बचतकर्ता तर्फ अनन्तकुमारी अधिकारी र रमेश मोहन अधिकारीलाई पुरस्कृत गरेको छ । सभामा असल ऋणी तर्फ सरोज लामिछाने र गेहेन्द्र बहादुर थिङलाई पुरस्कृत गरिएको थियो । उत्कृष्ट कर्मचारी तर्फ जुनियर कार्यालय सहायक नरेश विश्वकर्मालाई सम्मान गरिएको थियो ।
सहकारीले धेरै सदस्य बनाउने सदस्य, एसईइ र कक्षा १२ मा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई पनि पुरस्कृत गरिएको थियो । हेटौंडा उपमहानगर, मकवानपुरगढी र बकैया गाउँपालिकालाई आफ्नो कार्य क्षेत्र बनाइ बचत र ऋणको कारोबार गर्दै आएको सहकारीले आव २०७९/०८० मा ६७ करोड ५५ लाखको कारोबार गर्ने लक्ष्य राखेको छ ।
सभामा बकैया गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछाने, निवर्तमान अध्यक्ष नुरप्रसाद गौतम, जिल्ला बचत संघका उपाध्यक्ष मिनाकुमारी चौरेलको विशेष आतिथ्यता रहेको थियो । सभामा राष्ट्रिय सहकारी बैंकका प्रमुख रामेश्वर अर्याल, नेफ्स्कुन फिल्ड हेटौंडाका कार्यक्रम अधिकृत विदुर खड्का, नमुना प्रगति साकोसका अध्यक्ष मिठाराम दाहाल, दिव्यतारा बहुउद्देश्यीय सहकारीका अध्यक्ष डा. गणेश बल लामा, कृषि विकास बैंक हेटौंडाका प्रमुख तीर्थ प्रसाद पौडेल लगायतको आतिथ्यता रहेको थियो ।
५ करोड २८ लाख ७ हजार शेयर पुजीँ रहेको सहकारीमा बचत निक्षेप भने ४१ करोड ६५ लाख २६ हजार २७१ रहेको संस्थाका व्यवस्थापक रमला कुमारी सापकोटाले बताइन् । उनले सहकारीको जगेडा कोषमा २ करोड ७२ लाख ४६ हजार रहेको बताइन् ।