इन्द्रसरोवर \ मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ४ मा रहेको सक्रिय महिला बचत तथा ऋण सहकारी संस्था अब मिश्रित सहकारी बन्ने भएको छ । शनिबार २२ औं वार्षिक साधारण सभा गर्दै अब पुरुष सदस्यलाई समेत आवद्धता गरि महिला सहकारी बाट मिश्रित सहकारी बनाउने भनी सभाबाट पास गरिएको छ ।
महिलाहरु मात्र सदस्य रही आर्थिक कारोबार गर्दै आएको सहकारीले शनिबार भएको सभाबाट मिश्रित बनाउने भनी निर्णय पास गरिएको अध्यक्ष श्रमिक लामाले बताइन् । साविक फाखेल गाविस हाल इन्द्रसरोवर गाउँपालिकाको वडा ४ र ५ लाई आफ्नो कार्यक्षेत्र बनाउदै आएको सहकारीले पुरुष सदस्यलाई पनि समेटिएर लाने भएको छ ।
१३ करोड ५१ लाख ४७ हजार ६४४ रुपैयाँको कारोबार गर्दै आएको सहकारीले आफ्ना सदस्यलाई १० करोड ८४ हजार १६५ ऋण लगानी गरेको छ । एक करोड २४ लाख ४४ हजार ४ सय शेयरपुजीँ रहेको सहकारीमा बचत निक्षेप ८ करोड ७६ लाख ६० हजार ८८४ रुपैयाँ रहेको व्यवस्थापक सविना लामाले बताइन् । सहकारीको जगेडा कोष भने एक करोड ४० लाख ३४ हजार ४८४ रहेको छ ।
गाउँपालिकाका अध्यक्ष देवकृष्ण पुडासैनीको प्रमुख अतिथ्यता तथा पूर्व पालिका अध्यक्ष जीवन लामाको विशेष आतिथ्यतामा सभा भएको थियो । कार्यक्रममा वडा ४ का अध्यक्ष चन्द्र कुमार बल, ५ का अध्यक्ष दुधराज तितुङ, जिल्ला बचत संघका सदस्य फणिन्द्र सुवेदी लगायतकाको आतिथ्यता रहेको थियो ।
सहकारीले सभाको अवसरमा विभिन्न विधामा शेयर सदस्यलाई सम्मान तथा पुरस्कृत गरेको छ । सम्मानित हुनेमा नियमित बचततर्फ बिबिमाया लामा, ऐच्छिक बचततर्फ छलिमाया बलामी, बाल बचततर्फ चन्दन पाख्रीन, दैनिक बचततर्फ निर्मला डिम्डुङ, खुत्रुके बचततर्फ सुस्मिता कार्की, आवधिक बचततर्फ सरस्वती लामा थोकर, गहना बचततर्फ रमला तामाङ रहेकी छिन् ।
त्यस्तै, जेष्ठ नागरिक बचततर्फ माइली माया बलामी, युवा बचततर्फ अस्मिता डिम्डुङ, उत्कृष्ट महिला समूहतर्फ कफ्लेनी महिला विकास समूह, असल कारोबारीतर्फ कान्छी पाख्रीन र असल शेयर सदस्यतर्फ काइलीमाया लामा रहेकी थिइन् ।