सिधाखबर \ चाडपर्व सुरु भए लगत्तै मकवानपुरमा प्रहरी परिचालनमा कडाई गरिने भएको छ । सोमबार जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गर्दै प्रहरी प्रमुख प्रहरी उपरीक्षक बामदेव गौतमले चाडपर्वमा प्रहरी परिचालन गरि सुरक्षा व्यवस्था कडाइ गरिने बताएका छन् ।
हामीले प्रहरीलाई विदा दिएका छैनौं र नाकामा समेत सुरक्षा निगरानी कडाई गरिने छ, उनले भने । पिकेट, क्युआरटी, सादा पोशाक, मोवाइल गस्ती, चेकिङ गर्ने, साइकलमा गस्तीलाई २४ घण्टे बनाई ५७६ जना प्रहरी परिचालन गरिने प्रहरी उपरीक्षक गौतमले बताए ।
जिल्लाको चारैक्षेत्रको नाकामा र जिल्ला भित्र रहेका ६२ वटै प्रहरी युनिटबाट पैदल, साइकल मोटरसाइकल मार्फत परिचलन हुने जनाइएको छ । आम नागरिकलाई सुरक्षा प्रत्याभूति दिनका लागि हामी रातदिन खटिने र सुरक्षित महसुश गरी चाडपर्व मनाउन आग्रह गरिएको छ ।
पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक गौतमले श्रावण देखी हाल सम्म जिल्ला प्रहरी कार्यालयबाट गरेका कामकारवाहीबारे जानकारी दिएका थिए । लागुऔषध, अपराध, पक्राउ, मुद्दा दर्ता, उजुरी र समुदाय प्रहरी साझेदारी कार्यक्रमहरुबारे गौतमले जानकारी गराएका थिए ।