सिधाखबर \ आज नवरात्रीको सातौं दिन अर्थात फूलपाती । घरघरमा शास्त्रीय विधिअनुसार शुभसाइतको प्रतीक फूलपाती भित्र्याइएको छ । फूलपातीमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको पूल, मान वृक्ष र अन्य मौसम अनुसारका फूलहरु समावेस गरिएको हुन्छ । लावालस्कर सहित डोलामा ल्याइएको फूलपातीलाई अपरान्हको साइतमा भित्र्याइएको हो ।
नवदुर्गाका विभिन्न स्वरुपसँग गासिएको फूलवृक्षका प्रकारहरुमा उखुमा कालिका, हलेदोमा दुर्गा, केराको बोटमा ब्रम्हायणी, धानको बालामा लक्ष्मी, बेलपत्रमा शिवा, दारिममा रक्तदन्तिका, जयन्तीमा कार्तिकी, अशोकको फूलमा शोकरहिता, मान वृक्षमा चामुण्डा देवीको बास रहने शाष्त्रीय मान्यता छ ।
आज भित्र्याइएको फूलपाती दशमीको दिन टिका जमरासँगै देवीको प्रसादको रुपमा ग्रहण गर्ने परम्परा छ । हेटौंडामा पनि हेटौंडा बजार परिक्रमा गरी फुलपाती भित्र्याइएको छ । हेटौंडा २ मा रहेको वनस्खण्डी मन्दिरमा फुलपाती भित्र्याइएको छ ।
विभिन्न धार्मिक संघसंस्था तथा समितिहरुको साथै नेपाल आर्मी, नेपाल प्रहरीहरुले बाजागाजा सहित फुलपाती भित्र्याएकाछन् ।