सिधाखबर \ आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि प्रतिनिधि सभातर्फ समानुपतिक बन्दसुचीमा मकवानपुरको नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)का उम्मेदवार शुन्य रहेको छ ।
कम्युनिष्टको किल्ला भनेर चिनिने मकवानपुरमा समानुपतिकमा एक जना पनि नपर्नु दुर्भाग्य रहेको चर्चा सुरु भएको छ । एमाले र माओवादीले एक जना पनि बन्द सुचीमा मकवानपुरको नाम लिस्ट नपारेको हो ।
प्रदेश राजधानी भएको जिल्लामा दुई ठुला दलहरुले समानुपतिकमा नाम अटाउन नसकेपनि अर्को ठुलो दल नेपाली कांग्रेसले भने समावेशी समूह मधेशीमा नगिना यादवलाई उम्मेदवार प्रदान गरेको छ ।
मकवानपुरमा झण्डै एक दर्जन भन्दाबढी उम्मेदवार विभिन्न पार्टीबाट भएका छन् । बन्दसुचीमा सानाठुला दलहरु गरी २५ जनाको हाराहारीमा नाम समावेश भएको छ ।
ठुला दलहरुले नाम समावेश नगरेपनि साना दलहरुले भने नामहरु समावेशी समूह अनुरुप राखेका छन् । मकवानपुरमा नेकपा (एकीकृत समाजवादी) बाट बन्दसुचीमा आदिवासी जनजाती महिलातर्फबाट अमला देवी श्रेष्ठ, पुरुषतर्फ राजाराम स्याङ्तान र दलिततर्फ कल्पना विश्वकर्मा परेका छन् ।
त्यस्तै, नेपाली कांग्रेस (वि.पी)बाट खसआर्य तर्फ रिताकुमारी खनाल, दलिततर्फ चुनुकुमारी दमाई, आदिवासी जनजातीतर्फ रामबहादुर थिङ र रामकुमारी घलान रहेका छन् । विवेकशील साझा पार्टीबाट भने दलिततर्फ मकवानपुरकी सोभिता परियार बन्दसुचीमा परेकी छिन् ।
रवि लामिछानेको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीबाट आदिवासी जनजातीतर्फबाट विन्दवासीनी कंसाकार, हिरालाल स्याङ्तान, सुनिता राई (दनुवार) र नौरमान प्रजा रहेका छन् । राप्रपा नेपालबाट आदिवासी जनजातितर्फ शान्ति बुलुन र राधिका श्रेष्ठ, खसआर्यतर्फ बालकृष्ण कार्की, अम्बिका कुमारी र सुमित्रा कठायत, दलिततर्फ कृष्णराम परियार परेका छन् ।
त्यस्तै, राप्रपाबाट आदिवासी जनजातितर्फ रामबहादुर थोकर र खसआर्यतर्फ इन्दिरा न्यौपाने परेकी छिन् । राष्ट्रिय जनमोर्चाबाट भने शुभराज गोले परेका छन् ।
यी सँगै साना दलहरुकबाट अन्य उम्मेदवारहरु बन्दसुचीमा परेका छन् ।