सिधाखबर \ मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आज हेटौंडामा उम्मेदवारले मनोनयन दर्ता गरेका छन् ।
राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेकपा एमालेबाट मकवानपुर–१ मा उम्मेदवारी दर्ता गराएका छन् । आइतबार दिउँसो निर्वाचन अधिकृतको कार्यालयमा पुगेर थापाले उम्मेदवारी दर्ता गराएका हुन् । थापाको चुनाव चिन्ह एमालेको सूर्य हुने बताएको छ ।
मकवानपुर क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यका लागि नेकपा एमालेका महेश बर्तौलाले उम्मेदवारी दर्ता गराएका छन् । जिल्ला निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन् । बर्तौलाको प्रस्तावकमा पीपी गोले र समर्थकमा सानु थापा रहेका छन् ।
नेकपा एमालेले क्षेत्र नम्बर–१को प्रदेशसभा सदस्य (क) मा कमल विष्ट, (ख) मा एकलाल श्रेष्ठले पनि आफ्नो उम्मेदवारी दिएका छन् । त्यस्तै क्षेत्र २ को प्रदेशसभा (क) मा विष्णु ढकाल र (ख) मा लाल बहादुर थापाले उम्मेदवारी दर्ता गरेका छन् ।
मकवानपुर क्षेत्र नम्बर २ (ख)बाट गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका आनन्दराम पराजुलीले उम्मेदवारी दर्ता गरेका छन् । पराजुलीले जिल्ला निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गरेका हुन् । पराजुलीको प्रस्तावकमा नगर सभापति उत्सव इटनी र समर्थकमा हरि पौडेल रहेका छन् ।
राप्रपा केन्द्रीय कार्य सम्पादन समितिका सदस्य दीपकबहादुर सिंहले मकवानपुरको क्षेत्र नंबर १ बाट प्रतिनिधिसभाको लागि उम्मेद्वारी दर्ता गरेका छन् ।
त्यस्तै, हाम्रो नेपाली पार्टीबाट मकवानपुरमा तीनजनाले उम्मेद्वारी दर्ता गरेका छन् । मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट दीपेन्द्रचन्द ठकुरीले उम्मेदवारी दर्ता गराएका छन । उनको प्रस्तावकमा रामशरण कार्की तथा समर्थकमा माधवप्रसाद शर्मा रहेका छन् ।
त्यसैगरी प्रतिनिधिसभा क्षेत्र नम्बर १ को प्रदेश ‘क’ मा किशोर रानाले उम्मेदवारी दर्ता गर्दा प्रदेश ‘ख’ मा किशोर अर्यालले उम्मेदवारी दर्ता गरेका छन् । तीनै जना उम्मेदवारहरु राष्ट्रिय झण्डा बोकेर उम्मेदवारी दर्ता गरेका थिए ।