सिधाखबर \ लामो समय पछि हेटौंडाको हुप्राचौरमा सांगीतिक माहोल गुन्जेको छ । नेपाली चलचित्र महापुरुषले मोफसल भ्रमण गर्ने क्रममा विहीबार चलचित्रको प्रमोशनका लागि सांगेतिक कार्यक्रमको आयोजना गरेको हो । आगामी कार्तिक ११ गते देखी देशभर प्रदर्शनको तयारीमा रहेको चलचित्र महापुरुषका कलाकार टोलीहरुले हुप्रचौरलाई सांगीतिक माहोल बनाएका थिए ।
पूर्वबाट चलचित्रले प्रचारप्रसारका लागि वरिष्ठ हाँस्य अभिनेता हरिवंश आचार्य, राजाराम पौडेल, रविन्द्र सिंह बानियाँ,गौरी मल्ल, चलचित्रका नायक अरुण क्षेत्री, नायिका अन्जना बराइली, गायक निशान भट्टराई र हाँस्यकलाकार सुमन कार्की सहितको टोलीले हेटौंडाका दर्शकहरुलाई साँझको समयमा सांगीतिक कोशेली सँगै मनोरन्जनात्मक कार्यक्रम पस्केका थिए ।
कार्यक्रममा वरिष्ठ कलाकार हरिवंश आचार्यले चलचित्र महापुरुष बुबाको कथामा निर्माण भएकाले तमाम छोराछोरीले हेर्नुपर्नेमा जोड दिएका छन् । उनले चलचित्रको माध्यमबाट समाजलाई परिवर्तन गर्न सक्ने बताउदैं महापुरुष हेरेर आफुहरुलाई सल्लाहसुझाव दिन समेत आग्रह गरेका थिए ।
त्यस्तै, कलाकार राजाराम पौडेलले चलचित्र महापुरुषको बारेमा दर्शकहरुलाई जानकारी गराउँदै चलचित्र हेर्न आग्रह गरेका छन् । चलचित्रका नायक नायिकाले पनि महापुरुष असल बुबाको कथामा आधारित रहेकाले दर्शकहरुलाई एक पटक हलसम्म पुगेर चलचित्र हेर्न अनुरोध गरेका छन् । दीपावली तथा छठपर्वको अवसरमा प्रदर्शनमा आउन लागेको महापुरुष नेपाली समाजको अर्गानिक कथा रहेकाले चलचित्र हेरिदिन कार्यकारी निर्माता रविन्द्र सिंह बानियाँले बताएका छन् ।
कार्यक्रममा चलचित्रका गीतहरु गाएर गायक निशान भट्टराईले चलचित्र हेर्न दर्शकहरुलाई आग्रह गरेका थिए । निर्देशक प्रदीप भट्टराईले लेखन÷निर्देशन गरेको चलचित्रको कार्यकारी निर्माता रविन्द्र सिंह बानियाँ रहेका छन् भने निर्माता म्याक्स दिपेश खत्री रहेका छन् ।
चलचित्रमा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, गौरी मल्ल, राजाराम पौडेल, रविन्द्र सिंह बानियाँ, सिरु विष्ट, अरुण क्षेत्री, अन्जना वराइली लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
चलचित्रको साँगीतिक कार्यक्रमका लागि हेटौंडामा सागर गजुरेलले स्थानीय संयोजन गरेका थिए ।