हेटौंडा \ मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ मा रहेको महिला कल्याण बचत तथा ऋण सहकारी संस्था लिको २४ औं वार्षिक साधारण सभा शुक्रबार भएको छ । संस्थाका अध्यक्ष देवकी चौलागाईको सभाध्यक्षता तथा गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तानको प्रमुख आतिथ्यता रहेको थियो ।
सहकारीले आव २०७८/०७९मा ९ करोड ११ लाख १९ हजारको कारोबार गरेको छ । सहकारीमा असार मसान्तमा ९९ लाख ७९ हजार ६ सय शेयरपुजीँ रहेको छ भने जगेडा कोषमा ७४ लाख ४३ हजार १७२ रुपैयाँ रहेको छ । सहकारीले आफ्ना शेयर सदस्यलाई ७ करोड २१ लाख ३० हजार ३८० रुपैयाँ लगानी रहेको छ भने बचत निक्षेप ६ करोड ४२ लाख ६५ हजार ३८७ रुपैयाँ रहेको संस्थाका व्यवस्थापक मेनुका न्योपानेले बताइन् ।
सभाको अवसरमा सहकारीले विभिन्न विधामा पुरस्कार तथा सम्मान गरेको छ । सहकारीले जेष्ठ शेयर सदस्य धनमाया आचार्य, पूर्णकुमारी बन्जारा, तुलकुमारी गौतम, बुद्धिमाया स्याङ्तान, चीत्रकुमारी तिमल्सिनालाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
सभामा उत्कृष्ठ बचतकर्ता रमा नगरकोटी, उत्कृष्ठ बाल बचतकर्ता धारणा हुमागाई, असल ऋणीतर्फ सीता परियार, कमली खतिवडा र सुमित्रा आचार्यलाई पुरस्कृत गरिएको थियो । यसैगरी उत्कृष्ट समूह अध्यक्षमा मुक्ती महिला समुहका अध्यक्ष सुकुमाया थिङ, उत्कृष्ठ समूह सहयात्री महिला समूह र विशेष प्रकृतिको व्यवसाय गर्ने मयुरी चालक पुष्पा तिमल्सिना(ढकाल)लाई सम्मान गरिएको थियो ।
सभामा वडा नं. ५ का अध्यक्ष दिपेश दहाल, सहकारीको संस्थापक अध्यक्ष सुन्तली माया पुडासैनी, लेखा संयोजक सुलोचना स्याङ्तान, निवर्तमान अध्यक्ष निर्मला न्यौपाने, जनहित स्वावलम्बन साकोसका अध्यक्ष श्रीराम अर्जुन, स्वरोजगार साना किसान कृषि सहकारीका अध्यक्ष धनकुमारी खड्का, ग्रामिण महिला सेवा केन्द्रका सदस्य पञ्चमाया स्याङ्तान, शारदा माविका शिक्षक रामजी हुमागाई लगायतको आतिथ्यता रहेको थियो ।