श्रीराम अर्जुन
गाउँघरमा काम गर्ने मान्छे नपाउनुका साथै खेताला खर्च महँगो पर्ने भएकाले जिल्लाका अधिकाशं किसान आधुनिक थ्रेसर मेशिनतर्फ आकर्षित भएका छन् । पछिल्लो समय गाउँघरमा जनशक्तिको अभाव भएसँगै मकवानपुरका किसान थ्रेसर मेशिनतर्फ आकर्षित भएका हुन् । मकवानपुरमा अधिकांश फाँटमा अहिले धान काट्ने र थन्क्याउनेका काम धमाधम भइरहेको छ । आधुनिक मेशिन थ्रेसरको प्रयोग गरी धान चुट्ने गरिन्छ । पछिल्लो समयमा अहिले किसानले दाइँका लागि थ्रेसर मेशिनको प्रयोग गर्दै आइरहेका छन् ।
ज्याला मंहगो हुनुका साथै धान चुट्ने र पछि दाइँ गर्ने चलन हराउदैं गएपछि थ्रेसर मेशिनबाट धान झार्ने गर्ने गरेको मकवानपुरगढी गाउँपालिका ५ सिमलटार निवासी प्रेमप्रसाद दुलालले बताए । उनी भन्छन् चार पाँच घर मिलेर सबैको एकैसाथ थ्रेसर प्रयोग गरि धान झार्दा पराल पनि सफा आउने धान पनि सफा आउने बताए । दाइँ गर्नुपर्ने झन्झट पनि नहुने एकै साथ सबै काम छिटो छरितो हुने भएकाले पनि होला हामीले अहिले मेशिन प्रयोग गर्छौ, उनले भने ।
थ्रेसर मेशिनले काम गर्दा पैसा र समयको बचत हुने गरेको किसानहरुको भनाइ रहेको छ । प्रतिघन्टा थ्रेसर मेशिन प्रयोग गर्दा २ हजार देखी तीन हजार सम्म रकम लिने गरेका छन् । विशेषगरी मकवानपुरको हटिया हर्नामाडी, मनहरी फाँट, बकैया, बागमती गाउँपालिकाका क्षेत्रहरुमा धान काट्नुका साथै थ्रेसर लगाएरै धान चुट्ने गरेको पाइन्छ । सडक सञ्जाल नभएका स्थानमा भने स्थानीय किसानहरुको पुरानै पराम्परा खलो बनाई धान चुटने गरेका छन् ।
खेती किसानी गर्दा ट्याक्टर प्रयोग गरि खनजोत गर्ने गरेकाले गाउँघरमा गोरु पाल्न पनि छाडिसकेका छन् । कुन्यु पारी पछि दाइँ गर्ने परम्परा हराईसकेको बुढापाकाहरु बताउँछन् । प्रविधिको विकासँगै पछिल्लो समय दाइँ हाल्ने परम्परा गाउँघरबाटै हराउँदै गएको छ ।
विगतमा कार्तिक मंसिरमा फाँटमा गरा खुर्केर । गोबर माटोले पोतेर । मियो गाडेर । कुन्युबाट धानको मुठा निकाली झाँटेर । धेरैभन्दा धेरै गोरु मियोमा घुमाएर । भाका हाल्दै । गोरु धपाउँदै, पराल माड्दै । रासमा रहेको धान नाङ्लोले बत्ताउँदै । परालको भारी हाल्दै आपसमा धेरै मान्छे मिलेर दाइँ हाल्ने परम्परा थियो ।
गाउँघरमा अर्मपर्म गरेर खेती लगाउने, खेती थन्काउने चलन थियो । तर अहिले आधुनिक कृषि प्रणाली र अत्याधुनिक मेशिनहरुको प्रयोग गरि खेती लगाउने चलन छ । पछिल्लो समय थ्रेसरको प्रयोग बढेसंगै गाउँघरबाटै दाइँ गर्ने परम्परा हराउँदै गएको बुढापाकाहरु बताउँछन् ।
केही वर्ष अघिसम्म गोरु र मान्छेकै सहारामा दाइँ हाल्दै आएका जिल्लाका अधिकांश किसानहरु पछिल्लो समयमा आधुनिक ‘थ्रेसर मेशिन’को प्रयोग गरी दाइँ हाल्दै आएका छन् ।‘थ्रेसर मेशिन’को प्रयोगले किसानको समय, श्रम र पैसाको वचत भएतापनि मौलिक संस्कृति भने हराउँदै जान थालेको बुढापाकाहरुले बताए ।
श्रम, पैसा र समयको बचत हुने भएका कारण जिल्लाका किसानहरुले पछिल्लो समय आधुनिक कृषि उपकरणको उपयोग गरी खेतीपाती गर्दै आएका छन् । धान काट्ने मेशिन, मकै छोडाउने मेशिन, विरुवा रोप्ने, घाँस काट्ने मेशिनहरु स्थानीय सरकारले समूहका अनुदान मार्फत दिन थाले पछि मकवानपुरका अधिकांश स्थानमा आधुनिक मेशिनको प्रयोग गर्ने किसानको संख्या बढ्दोक्रममा रहेको छ ।