हेटौंडा \ नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्री एवम् लोकतान्त्रिक-वाम गठबन्धनको तर्फबाट मकवानपुुर क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार महालक्ष्मी उपाध्याय डिनाले मुलुकलाई नयाँ बाटोमा लैजान गठबन्धनको सरकार बन्न जरुरी रहेको बताएकी छिन् । गठबन्धनको सरकार निर्माणका लागि गठबन्धनका सम्पूर्ण उम्मेदवारलाई जिताउनुपर्ने उनको भनाई थियो ।
सत्तारुढ गठबन्धनको हेटौंडा उपमहानगरपालिका समितिले शुक्रबार हेटौंडामा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले अहिले गठबन्धनको लडाईं जनताको अधिकारका लागि भएको २०६३÷०६३ को आन्दोलन दमन गर्ने र पटकपटक संसद्को हत्या गर्न खोज्न दलसंग भएको बताइन् । ‘नेपालीहरुको अधिकार प्राप्तीको आन्दोलनमा दमन गर्ने र संविधानको हत्या गर्न खोज्ने दुई दल एक ठाउँमा उभिएका छन्’, उनले भनिन्, ‘यता हामी शान्ति सम्झौतामा हस्ताक्षर गर्ने दल र नेताहरु एक ठाउँमा गठन्धन हुँदा कुनै आश्चर्य मान्नुपर्ने अवस्था छैन । गठबन्धनको पक्षमा नहिच्किचाइ मतदान गर्नुहुन म ५ वटै दलका नेता कार्यकर्तालाई अनुरोध गर्दछु ।’ जनताको मताधिकार अन्त्य गर्ने, संविधान नै नष्ट गर्न खोज्नेहरु आज यहि संविधान अनुरुप हुन लागेको चुनावमा भोट माग्न आइरहेको भन्दै चुनावबाट जनताले परास्त गर्नुपर्ने सुझाव दिइन् ।
आफू २०४८ सालदेखि निरन्तर जिल्लाको विकास र राजनीतिमा कृयाशिल रहेको उल्लेख गर्दै सहकारी र शिक्षाको माध्यमबाट जिल्लाको विकासमा भूमिका खेलेको बताइन् । ‘सांसद् मात्र बन्नु मेरो उद्देश्य होइन, समानुपातिकमा बसेर पनि सांसद् बन्न सक्थें’, डिनाले भनिन्, ‘जनताको सुखदुःखमा रहेर काम गर्छु र प्रत्यक्ष जितेर देखाउनेछु भनेर आँट बोकेर आएको छु, यहाँहरुको मन र मत पाउनेछु भन्नेमा विश्वस्त छु ।’ जिल्लाको भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, बेरोजगार लगायतका समस्या समाधानमा लागिपर्ने उनको प्रतिबद्धता रहेको छ ।
मंसिर ४ पछि तीनै तहमा गठबन्धन सरकार : पराजुली
गठन्धनको तर्फबाट मकवानपुरको क्षेत्र नम्बर १ को प्रदेशसभा ‘ख’ का उम्मेदवार आनन्दराम पराजुलीले मंसिर ४ पश्चात तीनै तहमा लोकतान्त्रिक–वाम गठबन्धनको सरकार बन्ने बताएका छन् । गठबन्धनको नगर समितिले आयोजना गरेको कार्यक्रममा उनले मकवानपुरको ६ वटै सिटमा गठबन्धनको जित सुनिश्चित भएको बताएका हुन् । ‘गठबन्धन अहिले मुलुक र समयको आवश्यकता हो, गठन्धनमा रहेका शीर्ष नेताहरुले नै शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याएका हुन् ।
यो गठबन्धन पवित्र रहेको छ’, उनले भने, ‘हामी ५ वटै दलका उम्मेदवार हौं । हामीले एकअर्कालाई विश्वास गर्दै हाम्रा उम्मेदवारी र एजेण्डालाई घरघरमा पु¥याउन जरुरी छ । प्रतिगमनको विरुद्ध र मुलुक जोगाउन गठबन्धन बनेको बिषय बुझाउन जरुरी छ ।’ समानुपातिकमा आ–आफ्नो पार्टीमा र प्रत्यक्षमा गठबन्धनका उम्मेदवारलाई मतदान गर्न उनले आम नेता कार्यकर्तालाई अनुरोध गरे । प्रतिगमनकारी शक्तिले जिते हालसम्मको उपलब्धी गुम्ने खतरा हुने उनको भनाई रहेको थियो ।
गठबन्धनका उम्मेदवार जिताउन नसके सरकार बन्ने बेलामा समस्या हुने पराजुलीले बताए । नेपाली कांग्रेस हेटौंडा उपमहानगर सभापति उत्सव इटेनीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) मकवानपुर अध्यक्ष सूर्यचन्द्र न्यौपाने, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य मानकुमारी नेपाली आशा, नेपाली कांग्रेसका महासमिति सदस्य अशोक शाक्य, माओवादीका हेटौंडा उपमहानगर अध्यक्ष तीर्थबहादुर थापा मगर लगायतले मन्तव्य व्यक्त गरेका थिए ।