नेकपा (एकीकृत समाजवादी) का स्थायी कमिटी सदस्य एवम् सत्तारुढ गठबन्धनको तर्फबाट मकवानपुर क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार विरोध खतिवडाले मंसिर ४ को निर्वाचन एमालेले जितेमा संविधान, गणतन्त्र र हालसम्म प्राप्त उपलब्धी ध्वस्त हुने बताएका छन् । गठबन्धन दलको आयोजनामा शनिबार मनहरी गाउँपालिकाको रजैयामा भएको चियापान तथा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रतिगमनका कारण नेकपा (एस) जन्मेको र अहिले गठबन्धन बनेको बताए ।
‘संविधान मास्ने कुचेष्टा गरे । २-२ पटक संसद् भंग गर्न खोजे, पार्टीमा पनि ज्यादती र मनलाग्दी गर्दै गए’, खतिवडाले भने, ‘हुँदाहुँदै अहिले राजा फर्काउँछु भन्ने राजेन्द्र लिङ्देन, देश टुकाउछु भन्ने सिके राउत, व्यवस्था विरोधी कमल थापा लगायतसंग साँठगाँठ गरेका छन् । केपीले अहिले गरेको क्रियाकलापबाट हामीले हिजो लगाएको आरोपहरु प्रमाणित हुँदै गएका छन् ।’ कमल थापाको दमनका कारण धेरै परिवर्तनकारी नेताहरु जेल बस्न बाध्य भएको स्मरण गर्दै उनले एमालेले कसरी कमल थापालाई भोट हाल्नसक्छ ? भन्ने प्रश्न गरे ।
‘फेरि पनि एमालेले जित्यो भने मुलुक नै ध्वस्त पार्छ, अझ प्रतिगमनको खतरा हुनेछ’, खतिवडाले थपे, ‘अहिले एमालेसंग कुनै एजेण्डा नभएपछि गठबन्धनका उम्मेदवारलाई अनेक आरोप लगाउने, युवा र बृद्ध उम्मेदवारको कुरा निकाल्ने, स्थानीय कि बाहिरको भन्ने जस्ता कुरा उठाइरहेका छन् । ति नेताहरुलाई म भन्न चाहन्छु, म मकवानपुरलाई क्षेत्र बनाएर राजनीति गर्दै आएको व्यक्ति हुँ ।’ कांग्रेस नेतृत्वको वर्तमान गठबन्धन अग्रगामी गठबन्धन भएको दावी गर्दै उनले मुलुकको परिवर्तनका लागि भएको आन्दोलनमा जेल परेकाहरु अहिले गठबन्धनमा रहेको प्रष्ट पारे ।
कुनै संकोच नमानी गठबन्धनका उम्मेदवारहरुलाई ढुक्क भएर मतदान गर्न उनले गठबन्धनका नेता कार्यकर्तालाई अनुरोध गरे । जित पश्चात पनि सामुहिक रुपमै मकवानपुरको विकास र समृद्धिका लागि काम गर्ने उनले प्रतिबद्धता जनाए ।
एमाले नेता र नीति ठीक नभएको पार्टीले मुलुकलाई निकास दिँदैन : बानियाँ
गठबन्धनको तर्फबाट मकवानपुर क्षेत्र नम्बर २ को (ख) का उम्मेदवार ईन्द्रबहादुर बानियाँले नेकपा एमालेमा नेता र नीति ठीक नभएको भन्दै त्यस्तो पार्टीले मुलुकलाई निकास दिन नसक्ने बताए । रजैयामा भएको कार्यक्रममा उनले संविधानको रक्षा, संघीयता, धर्मनरपिक्षेता र प्राप्त उपलब्धिको रक्षाका लागि गठबन्धन भएको उल्लेख गर्दै गठबन्धनको जितले मात्रै मुलुकको विकास र समृद्धि सम्भव रहेको बताएका हुन् ।
५ दलको बीचमा गठबन्धन भएको तथा एमाले र राप्रपाको भने लठबन्धन भएको उनको आरोप थियो । ‘गठबन्धन देखि अत्तालिएर अहिले गणतन्त्र नमान्नेहरुको लठबन्धन भएको छ । केपी ओलीले देश टुक्राउँछु भन्ने सिके राउत र दमनकारी कमल थापालाई लिएर हिँडेका छन् । मंसिर ४ मा जनताले प्रतिगमनकारीलाई ठेगान लगाउनेछन्’, बानियाँले भने, ‘नेता र नीति ठीक नभएको पार्टीले मुलुकलाई निकास दिन सक्दैन त्यसकारण गठबन्धनका उम्मेदवारलाई मतदान गर्न अनुरोध गर्दछु ।’
नेपालका असली वामपन्थी पार्टीहरु अहिले कांग्रेससंगको लोकतान्त्रिक–वाम गठबन्धनमा समाहित भएको भन्दै उनले केपी बा प्रधानमन्त्री र डोरमणि काका मुख्यमन्त्री हुँदा एमालेका उम्मेदवार लालबहादुर र युवा भन्ने महेशले कति बजेट ल्याए ? भन्दै प्रश्न गर्न उनले आग्रह गरे । प्रदेशसभा र प्रतिनिधिसभा सदस्यको उम्मेदवार हुन चाहिने योग्यता नै थाहा नभएका एमालेका उम्मेदवारले अहिले गठबन्धनका उम्मेदवारलाई ‘टुरिष्ट’, ‘बृद्ध’ जस्तो आरोप लगाइरहेको भन्दै बानियाँले भने, ‘१३ जिल्लाको जोकोही नेता प्रदेशसभामा र जुनसुकै जिल्लाको भएपनि नेपालका जुनकुनै जिल्लामा गएर प्रतिनिधिसभामा उठ्न पाइन्छ भन्ने ति युवा नेतालाई जानकारी होस् । हामी नेपाली हौं, अझ मकवानपुरका हौं, मकवानपुरको सेवा गर्न राजनीतिमा लागेका छौं । २ नम्बर क्षेत्रको विकास गर्न आएका हौं ।’ जनताको अवस्था परिवर्तन गर्न गठबन्धन गरेको उल्लेख गर्दै उनले गठबन्धनकै पक्षमा मतदान गर्न अपिल गरे ।
स्थानीय जस्तै यो चुनावमा पनि गठबन्धन सफल हुन्छ : मोक्तान
मकवानपुरको क्षेत्र नम्बर २ को (क) का उम्मेदवार नेकपा माओवादी केन्द्रका नेतृ कुमारी मोक्तानले गठबन्धन फुटाउन धेरै चलखेल भैरहेको भन्दै प्रतिशोधको भावना नराखी गठबन्धनका उम्मेदवार जिताउनेतर्फ लाग्न अनुरोध गरिन् । रजैयाको कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्थानीय तहको निर्वाचनमा मकवानपुरमा गठबन्धन सत्प्रतिशत सफल भएको स्मरण गर्दै यस निर्वाचनमा पनि ६ जना नै उम्मेदवारले विजयको माला पहि¥याउने दावी गरन् ि। ‘अघिल्ला निर्वाचनहरु सम्झेर प्रतिशोधको भावना नराख्नुहोला यसले ठीक गर्दैन, गठबन्धन अहिले राष्ट्रिय आवश्यकता हो । चुनावपछि पनि गठबन्धन जारी नै रहन्छ ।
मकवानपुरको विकास पनि गठबन्धन मिलेरै गर्ने हो’, बागमती प्रदेशको सामाजिक विकास मन्त्री समेत रहेकी उनले भनिन्, ‘गठबन्धनमा सबै आफैले मात्र लिने भन्ने हुँदैन । गठबन्धन हुँदा सबै पार्टीलाई मिलाउनुपर्ने अवस्था भएकोले धेरै आकांक्षीहरुलाई चोट पुगेको पनि हुनसक्छ । गठबन्धनको उम्मेदवार मकवानपुरमा ६ जना हो, मेरो पार्टीको हो वा होइन भनेर हेर्ने बेला होइन, ६ जनालाई नै जिताउन सबैले आ–आफ्नो स्थानबाट भूमिका खेल्न जरुरी छ ।’ गठबन्धनका उम्मेदवारहरु मुख्यमन्त्री देखि केन्द्रको मन्त्रीसम्म हुनसक्ने हैसियतको भएको उल्लेख गर्दै मोक्तानले सत्ता गठबन्धनको जितले मात्रै मुलुकको विकास र हिन हुनसक्ने बताइन् । तपाईहरुले सोचेको जस्तै विकास गठबन्धनले मात्रै गर्नसक्ने उनको दावी थियो ।
कांग्रेस मनहरी गाउँपालिका सभापति प्रकाश बर्तौलाको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशका भौतिक पूर्वाधार राज्यमन्त्री सन्तबहादुर चेपाङ, नेकपा (एस) का केन्द्रीय सदस्य राजाराम स्याङ्तान, कांग्रेस मकवानपुर सभापति बुद्ध लामा, नेकपा माओवादी केन्द्र मनहरी अध्यक्ष रामप्रसाद कालाखेती लगायतले मकवानपुरमा गठबन्धनको जित सुनिश्चित रहेको दावी गर्दै उम्मेदवारलाई जिताउन कुनै कसर बाँकी नराख्ने धारणा राखेका थिए ।