हेटौंडा \ मकवानपुरमा पहिलो पटक जोडी दौड प्रतियोगिता भएको छ । नेपालको पश्चिमी जिल्लाहरुमा हुने यस्ता प्रतियोगिता मकवानपुरमा भने पहिलो पटक मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ मा भएको हो ।
शनिबार भएको जोडी दौड प्रतियोगितामा मकवानपुरगढी ५ निवासी पवन गोले र मेलिना गोले प्रथम भएका छन् । प्रथम भएसँगै उनीहरुले नगद १० हजार प्राप्त गरेका छन् । आयोजक क्लब श्री नव जागृत क्लबको आयोजनामा भएको प्रतियोगितामा अमिर अधिकारी र बिनिता कार्की अधिकारी दोस्रो स्थान हात पार्दै नगद ५ हजार जित्न सफल भएका छन् । त्यस्तै प्रतियोगिताको तेस्रो स्थान भने मकवानपुरगढी ६ का राजन चौलागाई र चण्डिका चौलागाई भएका छन् उनीहरुले नगद ३ हजार प्राप्त गरेका छन् ।
प्रतियोगितामा चार जोडी सान्त्वना भएका छन् । सान्त्वना हुनेमा वडा नम्बर ३ निवासी सुझाब पुडासैनी र सरिता पुडासैनी, वडा ५ निवासीहरु सन्तोष गौतम र पार्वती गौतम, रामबाबु न्यौपाने र सरस्वती न्यौपाने, अर्जुन न्यौपाने र दुर्गा दहाल न्यौपाने भएका छन् । उनीहरुले जनही एक-एक हजार प्राप्त गरेका छन् । प्रतियोगितामा जेष्ठ जोडीको रुपमा खडानन्द न्यौपानेको जोडीलाई पनि पुरस्कृत गरिएको थियो ।
प्रतियोगितामा ५१ जोडीले सहभागिता जनाएका थिए । क्लबका अध्यक्ष रामकुमार खड्काको अध्यक्षता तथा गाउँपालिका उपाध्यक्ष मानकुमारी पाख्रीनको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा वडा नम्बर ५ का वडा अध्यक्ष दिपेश दहाल, कांग्रेस युवा नेता यतिराज सापकोटा, समाजसेवी इन्द्रप्रसाद संजेल,एक्लेटिथका एम्पायर राजाराम पोखरेल लगायतको आतिथ्यता रहेको थियो ।
भाइचारा, सम्बन्ध, स्नेह र पारिवारिक सामिप्यता एंव सुखद दाम्पत्य जीवनको उद्देश्य लिई पालिका स्तरिय जोडी दौड प्रतियोगिता गरिएको क्लबका अध्यक्ष खड्का बताए । प्रतियोगितामा श्रीमानले आफ्नी श्रीमतीलाई बोकेर ६० मिटर दौडिनुपर्ने खेलको नियम रहेको थियो । पहिला पटक प्रतियोगिता भएकोले उल्लेख्य दर्शकहरुको सहभागिता रहेको थियो ।