प्रतिनिधिसभा अन्तर्गत मकवानपुरको २ वटा चुनावी क्षेत्रमा ‘ब्याक टु ब्याक’ जित्दै आएको एमालेले सिङ्गो मकवानपुरलाई आफ्नो गढ मान्ने गरेको छ । त्यसमाथि पनि मकवानपुर-२ मा आफ्नो बढी प्रभाव रहेको एमाले नेता–कार्यकर्ता बताउँछन् । हुन पनि यो क्षेत्रमा २०४८ पछिका हरेक चुनावमा एमाले अजेय रहँदै आएको छ ।
सो क्षेत्रमा एमालेलाई स्थापित गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेका नेता हुन् विरोध खतिवडा । खतिवडाले सो क्षेत्रबाट एमालेलाई ४ पटकसम्म चुनाव जिताइसकेका छन् । चुनावी खेलाडीका चिनिने खतिवडासामु आगामी निर्वाचन भने पहिलेजस्तो सहज छैन ।
एमाले विभाजनपछि नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी सदस्य रहेका खतिवडासँग अहिले बलियो दल छैन । कमजोर संगठन भएको दलबाट उनी उम्मेदवार बनेका छन् । यद्यपि उनलाई सत्ता गठबन्धनको साथ छ ।
पूर्व सहकर्मीसँगको लडाइँ खतिवडाका लागि अर्को मुख्य चुनौती हो । वर्षौं आफ्नो मेहनत र योगदानले बलियो तुल्याएको पार्टीविरुद्ध नै अहिले जित निकाल्नु उनका लागि चुनौतीपूर्ण मानिएको छ । सो क्षेत्रमा एमालेबाट महेश बर्तौला उम्मेदवार छन् । एमाले बागमती प्रदेश कमिटीको उपसचिव रहेका बर्तौलाको संसदीय निर्वाचनमा पहिलो प्रतिस्पर्धा हो ।
आफैले बनाएको एमालेको गढ भत्काउनुपर्ने चुनौती
उम्मेदवारी दिएका हरेक निर्वाचनमा अजेय रहँदै आएका विरोध खतिवडा यस पटक तुलनात्मक रुपमा कमजोर दलबाट उम्मेदवार बनेका छन् । उनको पार्टीको संगठित मत ५ हजार पनि नरहेको अवस्थामा सत्ता गठबन्धनका दलहरुको सहायताबाट खतिवडा पाँचौं जितको खोजीमा छन् ।
सो क्षेत्रबाट ४ पटक एमालेलाई जिताएका खतिवडासामु आफैले खडा गरेको एमालेको विरासत ढाल्नुपर्ने चुनौती छ । पार्टी विभाजनपछि पनि सो क्षेत्रमा एमालेको शक्ति त्यति कमजोर छैन ।
एमालेबाट उम्मेदवार बनेका बर्तौला नेकपा एकीकृत समाजवादीका खतिवडाको शिष्य मानिन्छन् । बर्तौलाको राजनीतिक जीवन खतिवडाकै छत्रछायाँमा विकास भएको हो ।
मकवानपुर–१ का मतदाता रहेका खतिवडा र मकवानपुर–२ का बर्तौला एक आपसका सहयोगी पनि थिए । विगतमा विद्यार्थी राजनीतिमा खतिवडाले बर्तौलालाई सघाउँथे भने आम निर्वाचनमा बर्तौलाले खतिवडालाई सघाउँथे ।