थाहा \ बाम लोकतान्त्रिक गठबन्धनको थाहा नगर स्तरीय निर्वाचन परिचालन कार्यालय स्थापना गरिएको छ । मंगलबार गठबन्धनको संयुक्त निर्वाचन परिचालन, प्रचारप्रसारका लागि नेकपा माओवादी केन्द्रको थाहा नगर पार्टी कार्यालय शिखरकोटमा कार्यालय स्थापना गरिएको हो ।
कार्यालय स्थापना गर्दै नेताहरुले यहि मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा बाम लोकतान्त्रिक गठबन्धनका उम्मेद्वारलाई विजयी गराउन इमान्दार भई मतदान गर्न गठबन्धन दलका थाहा नगरका नेताहरुले कार्यकर्ताहरुलाई अनुरोध गरेका छन् ।
गठबन्धन अन्तरगत नेपाली कांग्रेस थाहा नगर सभापति प्रमोद कृष्ण जोशीले लोकतन्त्रको रक्षा र यस क्षेत्रको विकासको लागि थाहा नगरका कांग्रेस समर्थकले गठबन्धनका उम्मेद्वारलाई मतदान गर्ने बताए । उनले पाँच दलको गठबन्धनमा नेपाली कांग्रेस पनि सहभागी भएकोले यस क्षेत्रका उम्मेद्वारहरुलाई मतदान गरि विजयी गराउने बताएका छन् ।
त्यस्तै नेकपा माओवादी केन्द्रका थाहा नगर अध्यक्ष बिनोद कुमार लामाले गठबन्धन अन्तरगतका उम्मेद्वारलाई मतदान गरी विजयी गराउन मतदाताहरुलाई अनुरोध गरेका छन् । लोकतान्त्रिक संविधान अनुसार देशलाई अगाडि बढाउन गठबन्धनका उम्मेद्वारहरु विजयी हुनुपर्ने बताए ।
नेकपा एकीकृत समाजवादीका थाहा नगर अध्यक्ष सानोकाजी गोपालीले प्रतिगमनबाट देशलाई बचाउन गठबन्धन बनेकोले गठबन्धनका उम्मेद्वारहरुलाई विजयी गराउन सबैलाई अनुरोध गरेका छन् ।
राष्ट्रिय जनमोर्चाका मकवानपुर जिल्ला अध्यक्ष तथा थाहा नगर अध्यक्ष दिनेश विष्टले गठबन्धनको मर्म अनुरुप आफ्नो दलको नेता तथा कार्यकर्ताले गठबन्धनका उम्मेद्वारहरुलाई मतदान गर्ने प्रतिवद्धता जनाएका छन् ।
बाम लोकतान्त्रिक गठबन्धन अन्तरगत मकवानपुर क्षेत्र नं. २ मा नेकपा (एकीकृत समाजवादी)का स्थायी समिति सदस्य बिरोध खतिवडा र प्रदेशसभा क मा नेकपा (माओवादी केन्द्र)की पोलिटब्युरो सदस्य, मकवानपुर ईञ्चार्ज कुमारी मोक्तान र प्रदेश सभा (ख)मा नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले आफ्नो उम्मेदवारी दिएका छन् ।