मणिराज गौतम
छोराछोरीको खुसीका लागि बाबुआमाले जस्तो सुकै बाधा व्यवधान सहन तयार हुन्छन किनभने आफुले पाएको सन्तान यसै प्यारो हुन्छ । छोराछोरीले पनि आफ्ना बाआमाका लागी उस्तै खुसी दिन सक्नुपर्छ । हुन त आज भोली यस्ता खुसीका पलहरु सामाजिक संजालहरुले लुटीसकेका छन् । ठुला-ठुला सपनाहरुले उडाई सकेकाछन् । पाश्चात्य समाजले धपक्कै छोएको हाम्रो समाज अहिले पनि सय वर्ष पहिलेका संस्कृति अंगाली रहेको हुन्छ ।
शुक्रबार देखी नेपाल तथा विदेशभर एक साथ प्रर्दशनमा आएको चलचित्र महापुरुष भित्र पनि केही खुसीका केही दुखका पलहरु देखाउन खोजिएको छ । यस चलचित्र हेरिसकेपछि जो कोहीले पनि आफुलाई एउटा अभिभावक र छोराछोरी भएर मुल्यांकन गराउँदा सोचमग्न बनाउँछ ।
हेटौंडाको एनएस सिनेमा घरमा चलचित्र हेर्न आउने दर्शकहरुले चलचित्रलाई निकै मन पराएकाछन् । शुक्रबार भन्दा शनिबार देखी चलचित्रले राम्रो पिकअप लिन थालेको हल संचालक नवराज आचार्यले बताएकाछन् ।
चलचित्रको कथा निकै सामान्य देखिएपनि चलचित्रमा समाज छर्लङ्ग कुदेको छ । बा र छोरा बीचको मनछुने कथाले सिनेमाको मध्यान्तर पछि दर्शकहरुलाई रुवाउन बाध्य बनाउँछ । सुरुमा चलचित्रले कमेडी संगै अपरिपक्वा छोरा र परिपक्वा बाको कथा उठाएपनि मध्यान्तरपछि कर्तव्य निष्ठ छोराको कथालाई चलचित्रले समातेको छ । हाँसो, रोदन, प्रेम र विद्रोहको पारिवारिक कथानकले दर्शकहरुलाई भावुक्ता बनाउँदछ । सिनेमाले दर्शकहरुलाई उर्जर बनाउँछ । अझ प्रवासमा बस्ने सन्तानले यस चलचित्र हेरेभने उनीहरुलाई पनि राम्रै सेन्टिमेन्ट प्रदान गर्दछ । चलचित्रको कथा हाम्रै घर आंगनको हो ।
निर्देशक प्रदीप भट्टराईले अर्गानिक कथालाई राम्रै मलजल र गोडमेल गरेको देखिन्छ । कन्टेन राम्रो ल्याउन सकियो भने दर्शकहरुलाई पुरै समय बाध्न सकिन्छ भन्ने सन्देश दिएको छ चलचित्र महापुरुषले । चलचित्रको खास सन्देश आफना सन्तानका लागी समर्पित बाबु अनि त्यो सन्तानले बाबुप्रति निभाउनुपर्ने कर्तव्यको सेरोफेरोमा चलचित्र केन्द्रित छ ।
एक्लो बाबुलाई छाडेर विदेश जान खोज्ने छोरा अनि यो वियोगमा आफुलाई मानसिक कमजोर बनाउनबाट केही खुसी खोज्न थाल्ने बाबुको प्रयासनै चलचित्रको मुख्य कथा रहेको छ । चलचित्र भित्र निकै सव स्टोरीहरु देखिन्छन । यीनै सव स्टोरीहरुले चलचित्रलाई भरिभराउ बनाएको छ । चलचित्रमा अभिनित कलाकारहरुको अभिनयमा कुनै खोट छैन ।
नाम चलेका कलाकारहरुले पनि यसअघि यस्तो भुमिका र अभिनय सायदै गरेका छैनन् जस्तो लाग्छ । केन्द्र बिन्दुमा रहेका वरिष्ठ कलाकारहरु हरिवशं आचार्य र मदनकृष्ण श्रेष्ठले यो उमेरमा पनि यति गहन अभिनय देखाउनु भनेको उहाँहरु नेपाली चलचित्रको महापुरुष नै हो भन्दा फरक पर्दैन ।
चलचित्रमा राजाराम पौडेलको कमेडी अभिनयले भाबुक दर्शहरुलाई बेलाबेलामा हसाउँन बाध्य बनाउछ तर चलचित्रको मुख्य कथामा डुबेका दर्शकहरुले एकपछि अर्को के होला भनेर पर्खीरहने अवस्था चलचित्रले देखाउँछ । कलाकार गौरी मल्लको भुमिका फरक खाले भएपनि उनको चटपटे अभिनय देखी भाबुक अभिनयले चलचित्रलाई माथि उठाउन सहयोग गरेको छ ।
नव नायक-नायिकाको रूपमा उभिएका दुई कलाकार अरुण क्षेत्री र अन्जना बराइलीले पनि यस चलचित्रबाट डेब्यु गरेको भान देखिदैन । उनीहरुको चलचित्र करिअर यसै चलचित्रले बनाउने निश्चित छ । निर्माता रविन्द्र सिंह बाँनियाले जेठो छोराको भुमिका निर्वाह गर्दा पुरानो कलाकार सिरु विष्टलाई बुहारीको भुमिकामा देख्न सकिन्छ ।
चलचित्र भित्र केही सस्पेन्स पनि छन् यसका लागि अन्त सम्म सिट छोडेर हिड्न मिल्दैन । पुरा चलचित्र हेरेर बाहिरिएका दर्शकहरुलाई चलचित्रले एउटा कर्तव्य निष्ठ छोराछोरी बनाएर र समाज परिवर्तन गराउन सक्ने सन्देश पठाउन सक्नुनै यस चलचित्रको सफलता हो ।