हेटौंडा \ नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवं मकवानपुर क्षेत्र नं २ (ख) प्रदेशसभा सदस्य उम्मेदवार ईन्द्रबहादुर बानियाँले धर्म, राजतन्त्र र देश टुक्र्याउनेसंग मिलेर यो व्यवस्थाको अन्त्य गर्नेसंग ओलीले लठबन्धन गरेको बताएका छन् ।
लोकतान्त्रिक बाम गठबन्धनको सोमबार बस्तीपुरमा भएको चियापान, अगुवा कार्यकर्ता भेला तथा चुनावी सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा नेता बानियाँले शान्ति प्रक्रिया, संविधान र व्यवस्था बचाउन लोकतान्त्रिक बाम गठबन्धन निर्माण भएको बताउँदै ओली यो व्यवस्थाको अन्त्य गर्न धर्म, राजतन्त्र र देश टुक्र्याउनेसंग मिलेर गणतन्त्र मास्न खोजिरहेको बताए ।
जनताको छोराछोरी राष्ट्रपति, उपराष्ट्रपति हुने यो व्यवस्था जति अर्को व्यवस्था नभएको बताउँदै उम्मेदवार बानियाँले अब भनेको विकास निर्माण र जनताको अवस्था परिवर्तन गर्न लागिपर्ने बताए ।
झण्डै दुईतिहाईको एमालेले देश र सातै प्रदेशको साँढे तीन वर्ष नेतृत्व गर्दैगर्दा झुटा आश्वासन र सपना बाहेक केही नबाँढेको बताउँदै नेता बानियाँले पछिल्लो १० महिना लोकतान्त्रिक गठबन्धनले नेतृत्व गर्दा मकवानपुरको क्षेत्र नम्बर २ मा मात्रै सडक, पुल, खानेपानीलगायतमा अरबौंको बजेट हालेको यहाँका जनतामा जगजाहेर रहेको बताएका छन् ।
यो गठबन्धनका नेता, नीति, नियत र जनताप्रतिको समर्पण रहेको बताउँदै उम्मेदवार बानियाँले स्थानीय निकाय निर्वाचनमा भएका तिक्तता र नमिलेको मन मिलाउँदै गठबन्धनलाई जिताउन सम्पूर्ण गठबन्धनका नेता कार्यकर्ता लाग्न आग्रह गरे ।
नेपाली कांग्रेस हेटौंडा १९ का सभापति विष्णुलाल स्याङतानको सभाध्यक्षतामा भएको कार्यक्रममा मकवानपुर क्षेत्र नं २ का प्रतिनिधिसभा उम्मेदवार विरोध खतिवडा, नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य घनप्रसाद गौतम, माओवादी केन्द्रका वीरबहादुर घलान ज्वाला, कांग्रेस मकवानपुर क्षेत्र नं २ का संघीय सभापति लोकबहादुर मुक्तान, कांग्रेस मकवानपुर २ ख का प्रदेश सभापति रञ्जन कालाखेती, नेकपा समाजवादीको जिल्ला सचिवालय सदस्य राजकुमार भेटवाल, माओवादी केन्द्रका समन्वय समितिका प्रकाश थोकरलगायतले आफ्नो भनाइ राखेका थिए ।
त्यस्तै, उनले मुलुकको विकास र व्यवस्था परिवर्तनमा युवाको भूमिका अपरिहार्य रहेको बताएका छन् ।
मनहरी गाउँपालिकामा रहेका नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुल दल, माओवादी केन्द्रको वाईसियल र नेकपा एकीकृत समाजवादीको युथफोर्सको मनहरीको रजैयामा भएको संयुक्त भेलामा उनले मुलुकको व्यवस्था परिवर्तन भइसकेको र अब युवाको नेतृत्वमा विकास निर्माण र जनताको अवस्था परिवर्तन गर्न आवश्यक रहेको बताउँदै केपी ओली नेतृत्वको एमालेले झुटको खेती र सपना मात्रै बाँड्ने काम गरेको बताए ।