हेटौंडा \ सत्तारुढ गठबन्धनको तर्फबाट मकवानपुर क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार विरोध खतिवडाले हेटौंडा उपमहानगरपालिकाका मेयर मीनाकुमारी लामा र उपमेयर राजेश बानियाँले गरिसकेको कामहरु अहिले एमालेको घोषणापत्रमा रहेको बताएका छन् । बुधबार हेटौंडा–३ बसामाडीमा गठबन्धनको चुनावी प्रचारप्रसार कार्यालयको उद्घाटन गर्दै उनले एमालेको घोषणापत्रमा झुट र आश्वासनको नारा मात्रै रहेको आरोप लगाए । ‘निशुल्क पानी, निशुल्क विजुली दिने भनेर लेखिएको छ ।
एमालेले दिइरहनै पर्दैन नि त्यो काम त हाम्रो हेटौंडाका मेयर मीना लामा र उपमेयर राजेश बानियाँले सुरु गरिसकेका छन्’, उनले भने, ‘अघिल्लो पटक पानी जहाज, रेल, घरघरमा पाइपबाट ग्याँस लगायतको झुटो सपना बाँडिएको थियो । न त्यो सपना पूरा भयो न त अहिले ती योजना घोषणापत्रमै समेटिएका छन् । अब जनता केपी ओलीको हावा कुराको पछि लाग्दैन ।’ पार्टी कब्जा गर्ने र १०-१५ बर्ष प्रधानमन्त्री बनिरहने केपी ओलीको लोभले एमाले फुटेको र गठबन्धन बनेको उनले बताए । अहिले गठबन्धनमा हिजोका आन्दोलनमा संगै भएकाहरु रहेको र एमालेसंग राजा फर्काउछु भन्ने राजेन्द्र लिङ्देन, आन्दोलनमा दमन गर्ने कमल थापा र मुलुक टुक्राउँछु भन्ने सीके राउतहरु सहित प्रतिगमनकारीहरु रहेको आरोप लगाए ।
एमालेका उम्मेदवारले अहिले मकवानपुरमा अनेक झुटा आश्वासन र आरोपप्रत्यारोप गरेको भन्दै खतिवडाले भने, ‘बा प्रधानमन्त्री र काका मुख्यमन्त्री हुँदा किन केही नगर्या ? त्यसबेला महेश बर्तौला र लालबहादुर थापाहरु कहाँ थिएँ ? आफ्नो गाउँठाउँमा कति बजेट ल्याए ? बहुमतको सरकार भत्काउने, अहिले फेरि सरकार बनाउछु भोट दे भन्दै आउन लाज लाग्दैन ?’ एमालेको युवा उम्मेदवार चाहिने नीति हो भने झापाबाट केपी बालाई र मकवानपुर १ बाट कमल काकालाई फिर्ता बोलाउन माग गरे ।
‘एउटै जिल्लामा राप्ती वारी युवा, राप्ती पारी कमल काका ?’, उनले भने, ‘झापामा बृद्ध बा भएपनि हुने मकवानपुर २ मा युवा चाहिने ?’ एमाले सरकारमा हुँदा महेश र लालबहादुरले कति बजेट ल्याए ? ः बानियाँ सत्तारुढ गठबन्धनको तर्फबाट मकवानपुर क्षेत्र नम्बर २ को प्रदेशसभा ‘ख’ का उम्मेदवार नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँले एमालेको सरकार हुँदा महेश बर्तौला र लालबहादुर थापाले आफ्नो ठाउँमा कति बजेट ल्याए भनेर प्रश्न गर्नुपर्ने बताएका छन् ।
चुनावी अभियान अन्तर्गत बुधबार हेटौंडा–३ बसामाडीमा चुनाव प्रचारप्रसार कार्यालय उद्घाटन गर्दै उनले आफ्नो सरकार हुँदा त बजेट ल्याउन नसक्नेले अहिले जनतालाई झुटो आश्वासन र नारा बाँड्नु बेकार भएको बताए । ‘केपी ओली र उनको पार्टी नक्कली कम्युनिष्ट भन्ने प्रमाणित भैसकेको छ’, बानियाँले भने, ‘सक्कली कम्युनिष्ट अहिले हामीसंगै गठबन्धनमा छ । एमालेकै प्रधानमन्त्री र मुख्यमन्त्री हुँदा गाउँमा कुनै बजेट ल्याउन नसक्नेहरुसंग अब जनताले के आश गर्ने ?’ हरेक पालिका र वडामा गठबन्धनको मतान्तर बढी रहेको भन्दै उनले त्यसलाई जोगाउँदै गठबन्धनको योजना लिएर गाउँगाउँ जान कार्यकर्तालाई उनले अनुरोध गरे ।
‘हामी जे बोल्छौं त्यो गर्छौं एमालेले जस्तो झुटा र फोस्रा नारा अनि आश्वासन दिँदैनौ’, बानियाँले थपे, ‘शान्ति प्रकृयाको जगमा गठबन्धन बनेको हो । गठबन्धनकै बिषयमा धेरै रुमल्लिन पर्दैन । गठबन्धनका उम्मेदवारलाई जिताउने अभियानमा सबै लाग्नुहोस् । सम्भाव्यता अध्यायन गरेर मिल्यो भने बसामाडीमै एअरपोर्ट बनाउने प्रतिबद्धता समेत जनाएका छन् । प्रदेश राजधानीमा एउटा एअरपोर्ट आवश्यक रहेको उल्लेख गर्दै उनले त्यो बसामाडीमै बन्नसक्ने बताए ।
३ नम्बर वडाका प्रचारप्रसार संयोजक रोशन गोले तामाङको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस २ नम्बर क्षेत्रका संघीय सभापति लोक मुक्तान, महासमिति सदस्य टेकनाथ शिवाकोटी, माओवादी केन्द्रका जिल्ला सदस्य रुपेश बर्तौला, हेटौंडा ३ का ईन्चार्ज सूर्य राई लगायतले गठबन्धनका उम्मेदवार जिताउन एक भएर लाग्ने प्रतिबद्धता जनाएका थिए । ,