राक्सिराङ \ लोकतान्त्रिक बाम गठबन्धनबाट मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर–२ प्रदेशसभा (ख) का उम्मेदवार इन्द्रबहादुर बानियाँले गठबन्धनको सरकार निर्माण हुनासाथ परेवाभीरमा बाटो बनाइएको बताएका छन् । गठबन्धनको राक्सिराङ गाउँपालिका ५ र ८ को संयुक्त कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता बानियाँले तत्कालिन मुख्यमन्त्री डोरमणि पौडेल नेतृत्वको सरकारले परेवाभीरमा बाटो बनाउन बजेट विनियोजन नगरेपनि गठबन्धनको नेतृत्व आउनासाथ बाटो बनेको बताए ।
उनले नेकपा एमालेले अन्य दलसँग गरेको चुनावी तालमेललाई ‘लठबन्धन’ भन्दै टिप्पणी गरे । बागमती प्रदेशमा साँढे ३ वर्षसम्म सत्ताको नेतृत्वमा रहेको एमालेले सिन्को नभाँचेको भएपनि गठबन्धनको सरकार बनेको १० महिनामै मकवानपुरको २ नम्बर क्षेत्रमा ३ अर्ब भन्दा बढी बजेट विनियोजन पठाइनुको साथै पुल, सडक, खानेपानी र तटबन्धनलगायत विकास निर्माणका काम गरिएको उनले बताए ।
केपी ओली नेतृत्वको एमालेले गणतन्त्र ल्याउने बेलामा मान्छे मार्ने कमल थापा र राजतन्त्र बोक्ने राजेन्द्र लिङदेल मात्रै नभई देश टुक्र्याएर भारतमा बिलय गराउँछु भन्ने सिके राउतसँग तालमेल गरी व्यवस्था र संविधानलाई नै धरापमा पार्ने प्रपञ्चमा लागेको बानियाँले आरोप लगाए । सोही कार्यक्रममा एमालेका वडा सदस्यका प्रत्यासी मानबहादुर प्रजा, सुदास प्रजा, अनिस प्रजा, सन्तबहादुर प्रजालगायत ३८ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
नेकपा माओवादी केन्द्र राक्सिराङ गाउँपालिका अध्यक्ष हस्तबहादुर मोक्तानको अध्यक्षतामा भएको कार्यक्रममा संघीय उम्मेदवार विरोध खतिवडा, कांग्रेस मकवानपुर सभापति बुद्ध लामा, कांग्रेस राक्सिराङ सभापति बीरेन्द्र जिम्वा, एकीकृत समाजवादीका ज्ञानेन्द्र तामाङ, युवा परिचालन संयोजक नवराज थिङ्ग, नेपाल चेपाङ संघका बागमती प्रदेश अध्यक्ष खुसीलाल चेपाङ, कांग्रेस नेता विष्णुराम प्रजा, माओवादी केन्द्र राक्सीराङका उपाध्यक्ष बनस्तम थिङ्ग, कांग्रेस नेता राजकुमार मल्ल, सन्त चेपाङ, नेपाल चेपाङ संघका केन्द्रीय अध्यक्ष गोविन्द चेपाङ, कांग्रेस संघीय सभापति लोकबहादुर मोक्तान, कांग्रेस महासमिति सदस्य उमा दाहाललगायतले मन्तव्य राखेका थिए ।