बकैया \ बस्ती हटाउने हल्ला चलेपछि तत्कालिन धियाँल गाविसमा पर्ने हाल बकैया गाउँपालिका १ स्थित बरबोटका स्थानीय त्रसित थिए । बर्षौदेखि बसोबास गर्दै आएको थातथलो छाड्नुपर्ने पीडाले स्थानीय चिन्तित थिए ।
यसै विषयमा छलफल गर्न यस क्षेत्रबाट निर्वाचित सांसद कमल थापाले स्थानीयलाई हेटौंडा बोलाए । गाउँघरका भद्रभलाद्मी र युवाहरु सबैलाई छलफलको लागि भन्दै हेटौंडा बोलाईयो ।
२०४४ सालको त्यो घटनाले दिएको पीडा अझै पनि बकैया गाउँपालिका १ स्थानीयले भुलेका छैनन् । २०४४ सालमा पञ्चायत सरकारका बन मन्त्री हेम बहादुर मल्ल र त्यस समयमा मकवानपुरको यसै क्षेत्रबाट निर्वाचित राप्रपा नेपालका अध्यक्ष थापाले बन क्षेत्रमा बस्ती बसेको भन्दै करिब सातसय घरमा आगजनी गरेका थिए । त्यसबेला आगजनीसँगै हात्ति लगाएर घरहरु भत्काइएको थियो । हाल बकैया १ नम्बर वडाको धियाँल डाँडा, माहादेव डाँडा, रजुवाई, इपिलघारी, हिलेखोला लगायत बस्ती आगजनी गरेर हटाएको तत्कालिन धियाँल पञ्चालय प्रमुख शेर बहादुर भ्लोनले बताए ।
भागदौडको समयमा कोक्रोमा रहेको बच्चा सहित महिला र बालवालिकाहरुले ज्यान गुमाएका थिए । बस्तीको बारेमा छलफल गर्न भन्दै यस क्षेत्रका सांसद थापाले गाउँका जान्नेसुन्ने र युवाहरुलाई हेटौंडा बोलाएर गाउँमा महिला, बालवालिका मात्र भएको मौका छोपेर आगो लगाएको स्थानीय ८१ वर्षीय कान्छीमाया हिमडुङले बताइन् । ‘हाम्रो गाउँ खरानी भएको, बालबच्चा मरेको अझै बिर्सेको छैन हामीले’, उनले भनिन् । बिस्ताथित यो गाउँमा नेकपा माओवादी केन्द्रको पहलमा जनयुद्धको समयमा पुनः बस्ती बसालिएको थियो ।
वि.सं. १९९३ सालको नम्बरी जग्गा समेत बस्ती उठाएर एलानी बनाएपछि यहाँका करिब सातसय परिवार सुकुम्बासी बनेका थिए । बारा र रौतहटको सीमानामा पर्ने यो गाउँमा हाल करिब पच्चिसय परिवार बसोबास गर्दैै आएका छन् । यसै क्षेत्रबाट फेरि कमल थापा यो पटक नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार छन् ।
यसै गाउँमा पुगेर बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुले बस्ती संरक्षणको बाचा गरेका छन् ।
बकैया १ धियाँलस्थित बरबोट चिसापानीमा आयोजित सभालाई सम्बोधन गर्दै मकवानपुर प्रतिनिधिसभा १ का उम्मेदवार नेपाली कांग्रेसकी सहमहामन्त्री हालक्ष्मी उपाध्याय (डिना)ले आफुहरु बस्तीको संरक्षण र विकासको लागि आएको बताइन् । ‘हामी यो बस्तीलाई बचाउन आएका छौं, यहाँको लालपूर्जा र सीमाको समस्या हामी समाधान गर्छौ’, उनले भनिन्, ‘हामीलाई जितआउन्होस्, यस ठाउँको विकास गर्ने जिम्मा हाम्रो भयो ।’
सभालाई सम्बोधन गर्दै मकवानपुर १(क) प्रदेशसभाका उम्मेदवार नेकपा माओवादी केन्द्र बागमती प्रदेश समितिका उपाध्यक्ष प्रेम बहादुर पुलामीले हातमा पैसाको मुठा लिएर आउनेहरुसँग सचेत भएर जनताको पक्षमा काम गर्नेहरुलाई विजयी गराउन अनुरोध गरे । यस क्षेत्रको विकासमा आफुले लामो समयदेखि काम गर्दै आएको बताउँदै उनले जग्गाधनी पूर्जा वितरणको काम अघि बढेको बताए । साथै उनले छिमेकी जिल्लासँगको सीमा विवादबारे पनि केन्द्र सरकारसँग पहल गरेर छिट्टै समाधान गरिने प्रतिवद्धता ब्यक्त गरे । सभामा नेकपा एमाले परित्याग गरी २० जना नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।