हेटौंडा । शिक्षा, स्वास्थ्य, पूर्वाधार विकासलगायत सबै क्षेत्रमा पछाडि परेको मकवानपुरको विकट राक्सिराङ गाउँपालिका–९ स्थित लोजाका २७ वर्षीय प्रविण स्याङ्तान अहिले एमबिबिएसको पाँच वर्षे कोर्स सक्याएर चितवन मेडिकल कलेजमा इन्टर्नसीप गरिरहेका छन् । दन्तरोग विशेषज्ञ बन्नको लागि आवश्यक पढाई पूरा गरेका स्याङ्तानले अब नेपाल मेडिकल काउन्सिलबाट डाक्टरको लाइसेन्स प्राप्त गर्न मात्र बाँकी छ । अबको एक वर्षभित्र उनी रजिष्टार डाक्टर बन्दैछन् । उनको यो सफलताको पछाडी पूर्व गृहराज्यमन्त्री एवम् नेपाली कांग्रेस बागमती प्रदेशका सभापति ईन्द्रबहादुर बानियाँको साथ र हौसला जोडिएकोे छ । चितवन मेडिकल कलेजमा २०७२ सालमा एमबिबिएस भर्ना भएका विकट गाउँका युवा स्याङ्तानलाई पढाईको लागि लाग्ने खर्चमध्ये वार्षिक ५० हजार रुपैयाँका दरले खर्च उपलब्ध गराउने बानियाँले प्रतिवद्धता जनाए ।
२०७३ पछि ३ वर्षसम्म वार्षिक ५० हजारको दरले पढाई खर्च बुझेका स्याङ्तान त्यसयता भने खर्च लिनको लागि सम्पर्कमा आएनन् । एमबिबिएस पढ्नको लागि खर्च उपलब्ध गराउने र अन्य केही समस्या भए सहयोग गर्ने बानियाँको आश्वासन पछि आफूलाई पढाईमा थप हौसला प्राप्त भएको स्याङ्तान बताउँछन् । ‘मेरो डाक्टर बन्ने सपना पूरा हुँदैछ । यसमा ईन्द्र दाईको साथ र हौसला पनि महत्वपूर्ण छ, दाईले नियमित रकम उपलव्ध गराईरहनु भएको थियो, ३ बर्षपछि भने म आफैंले व्यवस्थापन गरेकाले रकमको लागि दाईसंग सम्पर्क गरिन ।’ स्याङ्तानले टेलिफोन कुराकानीमा भने ।
२०६८ सालमा राक्सिराङ ९ साविक खैराङ गाविस अठारेको कालिका माध्यमिक विद्यालयबाट फस्ट डिभिजनमा एसएलसी पास गरेका स्याङ्तानले मकवानपुर बहुमुखी क्याम्पसबाट विज्ञान विषयमा दश जोड २ उत्तीर्ण गरे । एसएलसीमा उनको ब्याचमा फस्ट डिभिजन ल्याउने स्याङ्तान एक्ला थिए । अरुभन्दा पढाईमा धेरै राम्रो भएकाले धेरैले उनलाई विज्ञान पढ्न सुझाव दिए । उनले पनि १२ कक्षासम्म विज्ञान नै पढे । त्यसपछि के पढ्ने भनेर उनले सोचेकै थिएनन् । गाउँकै कसैले उनलाई ‘डाक्टर’ पढ्ने सुझाव दियो । उनले शिक्षा मन्त्रालयले डाक्टर पढ्न दिने छात्रवृत्तिका लागि निवेदन पनि दिए ।
तर, उनीसँग प्रवेश परीक्षा दिने खर्चसमेत थिएन । गाउँकै समाजसेवी, राजनीतिज्ञ तथा खैराङ गाविसका पूर्व अध्यक्ष हाल राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्लसँग ठोकिन पुगे । मल्लले स्याङ्तानलाई परीक्षा दिन जाने खर्च १५ हजार रुपैयाँ व्यक्तिगत सहयोग दिएर पठाए । स्याङ्तानले उर्तिण भई शिक्षा मन्त्रालयको छात्रवृत्ति पनि पाए ।
चितवन मेडिकल कलेजमा भर्ना भएपछि छात्रवृत्तिबाहेकका अन्य खर्च जुटाउन स्याङ्तानलाई हम्मे हम्मे पर्यो । परिवारको आर्थिक अवस्था पनि निकै कमजोर थियो । सानैमा आमा गुमाएका स्याङ्तानका बुबा पनि वृृद्ध भइसकेका छन् । दाइले ज्याला मजदुरी गरी कमाएको रकमबाट उनले डाक्टर अध्ययन गरिरहेका थिए । उनको कमजोर आर्थीक अवस्था भएकाले तत्कालीन खैराङ गाविसबाट ५० हजार र स्थानीय तहको संरचना बनिसकेपछि पटकपटक गरी २ लाख ५० हजार रुपैयाँ आर्थिक सहायता उपलब्ध गराइएको राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले जानकारी दिए ।
‘विकट गाउँमा गरिब परिवारमा जन्मिएकोे केटो, निकै मेहनती र पढाइमा अब्बल थियो । पछि डाक्टर बन्छु भनेर आएपछि हामीले पनि सकेको सहयोग गर्यौं ।’ अध्यक्ष मल्लले भने–‘पहिले तत्कालीन खैराङ गाविसबाट ५० हजार दिइएको थियो, पछि म गाउँपालिका अध्यक्ष भएर आएपछि २ वर्षसम्म एक÷एक लाख र एक वर्ष ५० हजारका दरले पढाई खर्च दिएका थियौं ।’ उनी राक्सिराङ गाउँपालिकाकै पहिलो एमबिबिएस डाक्टर भएको उनले दावी गरे । मल्लमार्फत नै ईन्द्रबहादुर बानियाँसँग स्याङ्तानलाई सम्पर्क गराइएको थियो ।
स्याङ्तानको पारिवारिक आर्थिक अवस्थाबारे जानकारी पाएपछि बानियाँले स्याङ्तानलाई एमबिबिएस पढ्न आर्थिक सहयोग दिएका थिए । यसअघि मकवानपुर क्षेत्र नम्बर २ (ख) बाट प्रदेशसभा सदस्य निर्वाचित बानियाँ आगामी मंसिर ४ गते हुने निर्वाचनमा सोही क्षेत्रबाट उम्मेदवार रहेका छन् । आफू पदमा हुँदा र नहुँदा पनि सधैं आम नागरिकको शिक्षा, स्वास्थ्यलगायत आधारभूत आवश्यकता पूरा गर्नमा क्रियाशील रहेको भन्दै बानियाँले जनताले निर्वाचित गराउनेमा विश्वास व्यक्त गरे ।