हेटौंडा \ सत्तारुढ गठबन्धनको तर्फबाट मकवानपुर क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ले चुनावपछि पनि निरन्तर जनताको सुखदुःखमै रहने प्रतिबद्धता जनाएकी छिन् । मतदाताकोमा पुग्ने क्रममा धेरैले यसअघि जितेर गएका नेताहरु गाउँ नफर्केको गुनासो गरेको भन्दै उनले जनताको समस्या र गुनासो सुन्न कम्तिमा महिनामा एक पटक गाउँगाउँ जाने प्रतिबद्धता जनाएकी हुन् । लोकतान्त्रिक–बाम गठबन्धनको हेटौंडा उपमहानगरस्तरीय संयुक्त युवा भेलालाई सम्बोधन गर्दै उनले भनिन्, ‘म सांसद् बन्नका लागि मात्रै तपाईंहरुको माझ आएको होइन, समानुपातिकको सहज बाटोबाटै सांसद् बन्न सक्थें ।
जनताको सुखदुःखमा साथै रहन्छु, यहाँका युवामाझ रहेर काम गर्छु भनेर आएको हुँ ।’ पटक पटक मन्त्री र माननीय भएकाहरु पनि अहिले आफूसंगको प्रतिस्पर्धामा रहेको भन्दै डिनाले उनीहरुले मकवानपुरको विकासमा के गरे त्यो खोज्न अनुरोध गरिन् । ‘चुनावमा मत नपुगेपनि हामी निरन्तर मकवानपुरको विकास र यहाँका जनताको सुखदुःखमा साथै छौं’, उनले भनिन्, ‘यसपटक गठबन्धनका उम्मेदवारलाई जिताउनुहोस् त्यसपछिको ५ बर्ष हेर्नुहोस् ।’ मतदातालाई सचेत गराउने र जनतालाई सही तरिकाले गठबन्धनको पक्षमा भोट हाल्न लगाउन युवाहरुको महत्वपूर्ण भूमिका हुने उनकोे भनाई थियो ।
आफूहरु गठबन्धनको साझा उम्मेदवार भएकोले चुनावपछि पनि साझा भएरै काम गर्ने प्रतिबद्धता जनाइन् । बजारको समस्या समाधान, कलकारखाना स्थापना, रोजगारीको सृजना गर्ने डिनाले योजना सुनाइन् । गर्व गर्न लायक प्रदेश राजधानी बनाउने उनको भनाई थियो ।
ओलीसंग दासहरु मात्र छन्, चुनावपछि कोही हुन्नन् : खतिवडा
सत्तारुढ गठबन्धनको तर्फबाट मकवानपुर क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेकपा (एकीकृत समाजवादी) का स्थायी कमिटी सदस्य विरोध खतिवडाले एमाले अध्यक्ष केपी शर्मा ओलीसंग दासहरु मात्र रहेको आरोप लगाउँदै चुनावको नतिजापछि कोही नहुने दावी गरे । युवा भेलामा उनले यो चुनावमा एमाले पत्तासाफ हुने बताए । ‘२ तिहाईको सरकार ढल्यो । पार्टी फुट्यो । स्थानीय निर्वाचनमा लज्जास्पद हार हुँदा पनि अझै एमाले अध्यक्षको चेत खुलेको छैन’, उनले भने, ‘ओली कम्युनिस्टको नाममा कलंक भएर निस्किए ।’ एमालेले देशद्रोही, विखण्डनकारी, दमनकारी र मन्डलेसंग एकता गरेको आरोप लगाउँदै उनले यसबाटै एमालेको नीति र विचार प्रष्ट भएको बताए ।
गठबन्धनको माहौल देखेर विरोधीहरु अत्तालिएको उनको आरोप थियो । चुनावको समयमा हुनसक्ने चलखेलको बिषयमा सतर्क रहन र मतदातालाई बुझाउन खतिवडाले युवाहरुलाई अनुरोध गरे । ‘गठबन्धनको उद्देश्य बारेमा जानकारी दिँदै आफ्ना नेताहरुको पहलमा भएका राम्रा कामहरुको बिषयमा समेत जनतालाई बुझाउने कार्यमा लाग्न युवाहरुलाई अनुरोध गर्दछु’, उनले भने । गठबन्धनले हारे मुलुकमा फेरि प्रतिगमनको खतरा हुने उनको भनाई थियो ।
जनमतको अपमान गर्नेसंग कुनै एजेण्डै छैन : पराजुली
लोकतान्त्रिक–बाम गठबन्धनको तर्फबाट मकवानपुर क्षेत्र नम्बर १ को प्रदेशसभा ‘ख’ का उम्मेदवार कांग्रेसका नेता आनन्दराम पराजुलीले जनमतको अपमान गर्ने एमालेसंग अहिले कुनै एजेण्डा नै नभएको आरोप लगाएका छन् । एजेण्डाविहीन एमालेले अहिले गठबन्धन भत्काउन अनेक षड्यन्त्र गरिहेको बताए । युवा भेलामा उनले मकवानपुरको क्षेत्र नम्बर १ का एमालेका नेता कार्यकर्ता समेत गठबन्धनलाई मतदान गर्न तयार रहेको दावी गरे । ‘एमालेका असली नेता कार्यकर्ताहरु अहिले पीडामा छन् । एमालेमा बर्षौं काम गरेका नेताहरुलाई पाखा लगाएर व्यवस्था विरोधीलाई टिकट दिएको छ’, पराजुलीले भने, ‘हामी साझा उम्मेदवार हौं, साझा भएरै काम गर्नेछौं । एमालेको पनि काम गर्छौं ।’ निर्वाचनको समयमा जनतामाझ गरेको प्रतिबद्धता पूरा गर्न नसके अर्को पटक भोट माग्नै नआउने उनको भनाई थियो ।
‘हामी जे बोल्छौं, त्यो पूरा गर्छौं, गर्न नसक्ने काम बोल्दैनौं’, उनले थपे, ‘तपाईंहरुको काम गर्न, सेवा गर्न आएका हौं । बोलेको कुरा पूरा गर्न सकेनौं भने अर्को पटक हात जोडेर आउँदैनौं । हामी काममा विश्वास गर्छौं ।’ पछिल्लो समय आर्थिक प्रलोभन देखाउँदै केही उम्मेदवार गाउँ डुलिरहेको जानकारीमा आएको भन्दै उनले अहिले पैसा बाँड्नेले पछि भ्रष्टाचार गर्ने भएकोले सतर्क रहन अनुरोध गरे ।
जागरुक युवाहरुले अब परिवर्तनको पक्षमा गठबन्धनका उम्मेदवारलाई मतदान गर्ने र मतदान गर्न लगाउनुपर्ने सुझाव दिए । तरुण दलका नेता सुशील सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य मानकुमारी नेपाली पाख्रीन, कांग्रेस मकवानपुर सचिव ईश्वर पाठक, युवा संघका केन्द्रीय सचिवालय सदस्य कविन पन्त, वाइसीएलका जिल्ला अध्यक्ष लवराज ठकुरी, युवा संघ नगर इन्चार्ज सफल अधिकारी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।