मकवानपुरका मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले मकवानपुरमा आगामी मंसिर ४ गते हुने प्रतिनिधीसभा र प्रदेशसभाको निर्वाचन स्वतन्त्र रुपमा निष्पक्ष तथा भयरहित ढंगले सम्पन्न गराउन आफुहरु लागी परेको बताउनु भयो ।
नेपाल पत्रकार महासंघ मकवानपुर शाखा अन्तरगतको फ्रि मिडिया नेटवकले आयोजना गरेको बैठकमा बोल्दै उहाँले निर्वाचन अधिकृतको कार्यालय, प्रहरी, प्रशासन, पत्रकार सबै मिलेर निर्वाचनलाई निस्पक्ष र भयरहित ढंगले सम्पन्न गराउनका लागि सहयोग आवस्यक रहेको बताउनुभयो । सबैले आफ्ना क्षेत्रबाट निर्वाचन आचार संहिताको पालना गरेर निर्वाचनलाई निष्पक्ष रुपमा सम्पन्न गराउन लाग्नुपर्नेमा उहाँको जोड थियो ।
आचार संहिता पालना गरे नगरेको विषयमा उजुरी पर्ने बित्तिकै सचेत गराउने गरिएको समेत उहाँले बताउनुभयो । यो चुनावमा कतैबाट पनि दवाव महसुस नगरेको उहाँले बताउनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले पत्रकारहरुले आचार संहिता पालना गरिरहेको र पालना गराउनका लागि लागिपरेको बताउनु भएको छ । निर्वाचन आयोगले यो चुनावमा मिडियालाई लिखित स्पष्टिकरण सोध्ने, समाचार हटाउन भन्ने जस्ता कार्य पत्रकार महासंघलाई स्वीकार्य नभएको उहाँले बताउनुभयो । चुनावका बेला पत्रकार र मिडिया पनि निष्पक्ष रुपमा काम गर्नुपर्ने मा उहाँले सुझाब दिनुभयो ।
कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले चुनावका दिन र मतगणना गर्ने दिनमा सकेसम्म पत्रकारहरुलाई सहज रुपमा समाचार संकलन गर्ने वातावरण तयार गरीने बताउनुभयो । सबैलाई कानून लाग्ने भएजस्तै पत्रकारलाई पनि कानून लाग्ने उहाँले बताउनुभयो । सञ्चार क्षेत्रबाट निष्पक्ष रुपमा कलम चलाउनका लागि उहाँको आग्रह रहेको थियो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक बामदेव गौतम, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सुनिल खड्का, बागमती प्रदेश पत्रकार महासंघका पूर्व अध्यक्ष प्रताप विष्ठ, पत्रकार महासंघ मकवानपुरका पूर्व अध्यक्षहरु राममणि दाहाल, भानुभक्त आचार्य, निवर्तमान अध्यक्ष हरि हुमागाईं, हेटौंडा उपमहानगरपालिकाकी कार्यापालिका सदस्य इश्वरी रसाइली, गैरसरकारी संस्था महासंघका आरती पाठक, रमिला सापकोटा लगायतकाको बैठकमा सहभागिता रहेको थियो । कार्यक्रम नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमको अध्यक्षतामा भएको थियो ।