बकैया \ लोकतान्त्रिक बाम गठबन्धनतर्फ क्षेत्र नम्बर १ की उम्मेदवार महालक्ष्मी उपाध्याय (डिना) ले आफु देशलाई निकास र यस क्षेत्रको विकास गर्न आएको बताउनुभएको छ । सोमबार बकैया गाउँपालिका वडा नम्बर ९ शिखरपुरमा आयोजित चुनावीसभामा बोल्दै उहाँले यस क्षेत्रमा गर्व गर्न लायकको विकास गरेरै छाड्ने दाबी गर्नुभयो ।
‘मैले कुनै लाभ पाउने अभिलाषाले यो चुनाबमा आएको होइन, उहाँले भन्नुभयो–‘देशलाइ निकास चाहिएको छ, यो क्षेत्रलाई समृद्ध बनाउनु छ र मेरो एउटै उद्धेश्य नै यहाँहरुको माझमा रहेर गर्व गर्न लायकको विकास गर्ने हो ।’ उहाँले यस क्षेत्रमा शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि , पुल–पुलेसा जस्ता जनताको दैनिकी जिवनसंग सम्बन्धित विषयलाई योजनाबद्ध ढंगले विकास गरिने बताउनुभयो । त्यसका लागि केन्द्रदेखि प्रदेशका सरकारमा गठबन्धनको जित सुनिश्चित हुनुपर्ने र त्यो सुनिश्चितता यहाँले जनताले बनाउनुपर्नेमा जोड दिनुभयो ।
चिन्ता नलिनुस् ! मत संरक्षण गरिदिनुस् बाँकी जिम्मेवारी मेरो हो : छिन्तु
मकवानपुरको निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा (क) का उम्मेदवार प्रेम बहादुर पुलामी (छिन्तु) ले गठबन्धनको मत संरक्षण गर्न मतदातालाई आग्रह गर्नुभएको छ । बकैया गाउँपालिका वडा नम्बर ९ शिखरपुरमा आयोजित चुनाबीसभालाई सम्बोधन गर्दै उहाँले जनताले मत संरक्षण गरिदिएमा यस क्षेत्रलाई विकास र समृद्ध बनाउने जिम्मेवारी आफ्नो रहेको बताउनुभयो । ‘अघिल्लोपटक मलाई जिताउनुभयो, मैले सकेको विकास गरे छिन्तुले भन्नुयभयो- ‘यसपटक फेरी आएको छु, गठबन्धनको मत संरक्षण गरिदिनुस् बाँकी के–के गर्नुपर्ने ?कहाँ–कहाँ विकास गर्नुपर्ने त्यो सबै जिम्मेवारी मेरो हो, तपाईहरुले चिन्ता लिनुपर्दैन । ’
उम्मेदवार छिन्तुले यस क्षेत्रमा व्याप्त रहेको लालपुर्जाको समस्यालाई गठबन्धन सरकारले छिट्टै निकास दिएर सबैको हात–हातमा लालपुर्जा थमाइदिने बाचा पनि गर्नुभयो । आफु अरुजस्तो चुनाब जितेर गएसी भाग्ने खालको नभएको बताउँदै उहाँले एक मिनेटको समय पाएपनि त्यो जनताकै लागि खर्चिने जिकिर गर्नुभयो ।
गठबन्धनकी प्रचारप्रसार संयोजक ठुलीमाया मोक्तानको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्र मकवानपुर जिल्ला संयोजक सर्केश घलान, माओवादी बागमती प्रदेश सदस्य जिवन गोले र लक्ष्मी पाख्रिन, गठबन्धनका क्षेत्र नम्बर १ प्रचारप्रसार संयोजक दामोदर खनाल, वाइसिएल नेपालका केन्द्रिय सचिव सुमन पाख्रिन, माओवादीका बागमती प्रदेश सदस्य लक्ष्मी माझी लगायतको सहभागिता रहेको थियो ।