हेटौंडा \ सत्तारुढ गठबन्धनको तर्फबाट मकवानपुर क्षेत्र नम्बर १ को उम्मेदवार नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ले नेकपा एमालेले जितेमा फेरि संसद् विघटन र संविधानमाथि प्रहार हुने बताएकी छिन् । निर्वाचन केन्द्रीत कार्यक्रम अन्तर्गत हेटौंडा ८ मा भएको घरदैलो कार्यक्रममा उनले जनमतको सम्मान गर्न नसक्ने पार्टीलाई फेरि मत दिन बेक्कार हुने बताए । जनताको अधिकारका लागि बनेको संविधान नमान्नेहरुलाई जनतासंग मत माग्ने नैतिक अधिकार समेत नभएको डिनाको भनाई थियो ।
मंसिर ४ को निर्वाचन संविधान पक्षधर र संविधान नमान्ने प्रतिगामीको बीचमा हुन लागेको उनले बताइन् । ‘संविधान निर्माणको क्रममा हस्ताक्षरै नगर्ने र संविधान नमान्ने, संसद् विघटन गर्ने र सधैं जनतालाई झुटो आश्वासन, नारा दिनेहरु एक भएका छन् । संविधान पक्षधर शक्तिहरु कांग्रेसको नेतृत्वमा गठबन्धनसहित चुनावी प्रतिस्पर्धामा छौं’, उनले भने, ‘मुलुकको विकास र समृद्धि चाहने हामीले प्रतिगामी तत्वसंग प्रतिस्पर्धा गरिरहेका छौं । गठबन्धनको जित सुनिश्चित छ ।’ संविधान र व्यवस्था नै नमान्ने कमल थापा र दीपक सिंहहरु अहिले जनताकोमा आएर अनेक आश्वासन र प्रलोभन दिइरहेको उनको भनाई थियो ।
जनताको अधिकारका लागि ल्याइएको संविधान नमान्नेहरुलाई मत हराएर ठेगान लगाउने बेला आएको उनले बताइन् । डिनाले आफू विजयी भए मकवानपुरका लागि राष्ट्रिय बजेट ल्याएर समृद्ध र विकसित मकवानपुर बनाउने अभियानमा लाग्ने बताइन् । समानुपातिकबाट सहजै प्राप्त सांसद् पद छोडेर प्रत्यक्ष निर्वाचनमा होमिन आएको जानकारी दिँदै उनले जनताको हर सुखदुःखमा साथौ रहने प्रतिबद्धता जनाएकी छिन् । गठबन्धन र कांग्रेसको पक्षमा माहौल देखेर विपक्षीहरु बर्बराउन थालेको उनको भनाई थियो । गठबन्धनको जित सुनिश्चित भइसकेको दावी गर्दै उनले मतान्तर बढाउन र मंसिर ४ गतेसम्म कुर्न अनुरोध गरिन् ।
मतदाताको शिर निहुरिने काम गर्नेछैन : पराजुली
सत्तारुढ गठबन्धनको तर्फबाट मकवानपुर क्षेत्र नम्बर १ को प्रदेशसभा ‘ख’ का उम्मेदवार नेपाली कांग्रेस मकवानपुरका नेता आनन्दराम पराजुलीले मतदाताको शिर निहुरिने काम नगर्ने बताएका छन् । चुनावी अभियानको क्रममा मंगलबार हेटौंडा ८ नम्बर वडामा भएको घरदैलो कार्यक्रममा उनले जनताको मतको सधैं सम्मान गर्दै जनताकै चाहना बमोजिम साझा भएर अघि बढ्ने प्रतिबद्धता जनाएका हुन् ।
‘म बर्षौंदेखि जनताको साथमा रहेर नेपाली कांग्रेसको राजनीति गर्दै आएको छु । मकवानपुरबासीलाई परेको समस्यामा सकेसम्म साथै छु’, उनले भने, ‘राजनीतिलाई सेवा बनाएर जिल्लाको विकास र समृद्धिको अभियानमा लागिपरेको छु । यहाँको सम्भावना देखेको छु, विकासको योजना बनाएको छु ।’ मकवानपुर प्रदेश राजधानी भएपनि यहाँको भौतिक पूर्वाधार विकासमा धेरै काम गर्न बाँकी रहेकोले स्थानीय र प्रदेश सरकारसंगको समन्वयमा केन्द्र सरकारबाट बजेट ल्याएर काम गर्ने योजना रहेको सुनाए ।
यसअघि जितेर गएकाहरु मतदाताकोमा फर्केरै नआएको गुनासो सुनिएको भन्दै उनले गठबन्धन दलका उम्मेदवारले यस्तो गुनासो नआउने गरी काम गर्ने प्रतिबद्धता जनाए । यसअघि पटक पटक जितेको एमालेले देखिने काम केही गर्न नसकेको पराजुलीको भनाई थियो । ‘पटक पटक जितेर पनि केही कामै नगरेका एमालेका साथीहरु फेरि प्रलोभन र आश्वासनको पोको लिएर जनता झुक्याउन आएका छन् ।
कुनै योजना नै नभएपछि गठबन्धनको विरुद्ध अनेक अफवाह फैलाइरहेका छन्’, पराजुलीले भने, ‘नेपाली जनताले अब सबै कुरा बुझिसकेका छन् । जनमतको अपमान गर्ने एमालेलाई भोट दिनेछैनन् ।’ निर्वाचन पश्चात पनि सबैको साझा भएर जनताकै माझ रहेर काम गर्ने उनले प्रतिबद्धता जनाए ।