थाहा \ समानुपातिक, समावेशिता, धर्मनिरपेक्षता, संघीयता र गणतन्त्रसहितको संविधानको रक्षा तथा सुशासन र विकास निर्माण गर्न बाम लोकतान्त्रिक गठबन्धन सरकार फेरी अति आवश्यक रहेको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ८ आग्रा, मोरियामा मंगरबार बाम लोकतान्त्रिक गठबन्धनद्धारा आयोजित चुनावी सभामा वक्ताहरुले संविधान, सुशासन र विकासका लागि गठबन्धनलाई जिताउनुपर्ने बताए ।
कार्यक्रममा नेकपा (एकीकृत समाजवादी)का स्थायी समिति सदस्य तथा मकवानपुर क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उम्मेद्वार बिरोध खतिवडा र नेकपा (माओवादी केन्द्र)की पोलिटब्युरो सदस्य, मकवानपुर ईञ्चार्ज तथा प्रदेश सभा मकवानपुर २ (क) उम्मेद्वार कुमारी मोक्तानले सम्बोधन गरेकी थिइन् ।
पूर्व स्वास्थ्य मन्त्री समेत रहनु भएको प्रमुख अतिथि बिरोध खतिवडाले गठबन्धन सरकार बनेपछि उत्तरी क्षेत्रमा विकासका लागि धेरै बजेट ल्याएको भन्दै संविधान र लोकतन्त्रको रक्षाको लागि गठबन्धनका उम्मेदवारलाई मतदान गर्न आग्रह गरेका छन् । ‘काँग्रेस–माओवादी र एकीकृत समाजवादी पार्टीको गठबन्धनको सरकारले थाहासहित उत्तरी क्षेत्रमा धेरै बजेट ल्याएको छ,’ उनले बताए । ‘समानुपातिक, समावेशीता, धर्म निरपेक्षता, संघीयता र गणतन्त्रलाई संस्थागत गरेको संबिधानको रक्षा गर्न र विकास निर्माण धेरै गर्न गठबन्धनलाई जिताउँनु होस् ।’
बागमती प्रदेशकी सामाजिक विकास मन्त्री समेत रहेकी कुमारी मोक्तानले प्रदेश सरकारको तर्फबाट यस क्षेत्रमा धेरै विकासका योजनाहरु ल्याएको दाबी गर्नुहुँदै आफुले जितेमा अधुरा काम पुरा गर्ने प्रतिवद्धता जनाइन् । ‘तपाईहरुकै प्राथमिकतामा यस क्षेत्रको सडक, शिक्षा, स्वास्थ्य, खानेपानी लगायतको विकास गर्न म फेरी उम्मेदवार भएर आएको बताइन् । उनले ‘स्थायी र प्रभावकारी विकास गर्नको लागि आफु लगायत गठबन्धनका उम्मेदवारलाई मतदान गरी बिजयी गराउन अनुरोध गर्दछु ।’
कार्यक्रममा नेपाली काँग्रेस महासमिति सदस्य जयराम लामिछाने, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य प्रल्हाद लामिछाने, बागमती प्रदेश सचिवालय सदस्य बिष्णु विष्ट ‘आदर्श’, प्रदेश कमिटि सदस्य तथा मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ का निर्वाचन परिचालन संयोजक लवशेर विष्ट, प्रदेश कमिटि सदस्य ईन्द्रबहादुर श्रेष्ठ, नेकपा (एकीकृत समाजवादी)का बागमती प्रदेश सदस्य गौतम बुद्ध लामाको उपस्थिती रहेको थियो ।
साथै, नेपाली काँग्रेसका पूर्व जिल्ला सभापती माईकल रामचन्द्र अर्याल, क्षेत्रीय सभापती खड्ग गोपाली, थाहा नगर सभापति प्रमोदकृष्ण जोशी, माओवादी केन्द्रका मकवानपुर सदस्य अरुण रायमाझी, थाहा नगर अध्यक्ष सानोकाजी गोपाली, थाहा नगर सचिव लक्ष्मण विष्ट, राष्ट्रिय जनमोर्चाका समानुपातिक सांसद उम्मेदवार शुभराज गोले लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रमअघि आयोजित घरदैलो थाहा नगरपालिका १ ओखरबजार–थाहा २ फाँटबजार–फेदीगाउँ–थाहा ७ चिसापानी–डाँडाबास–गैह्रीगाउँहुँदै थाहा मोरियामा पुगेर कोणसभामा परिणत भएको थियो ।