हेटौंडा \ लोकतान्त्रिक वाम गठबन्धनले हेटौंडाका पत्रकारहरुसंग छलफल गरेको छ । बिहिवार हेटौंडामा सञ्चारमाध्यम र सञ्चारकर्मीको प्रवद्र्धन र हितमा कार्य गरिने विषयमा छलफल भएको हो । छलफलमा प्रतिनिधसभा क्षेत्र नम्बर १(क) का उम्मेदवार प्रेम बहादुर पुलामी (छिन्तु) ले ‘वाक तथा प्रेस स्वतन्त्रता, पत्रकारको सुरक्षा हाम्रो प्रतिवद्धता’ विषयक प्रतिवद्धता पत्र प्रस्तुत गर्नुभयो । १७ बुँदे प्रतिवद्धतापत्र प्रस्तुत गर्दै छिन्तुले सञ्चार माध्यमको व्यावसायिक र संस्थागत विकासका लागि मिडियालाई राष्ट्रिय सेवामूलक उद्योगसरह मान्यता प्रदान गरी संरक्षण र संवद्र्धनको नीति लिइने बताउनुभयो ।
प्रतिवद्धतापत्रमा आमसञ्चार माध्यमलाई सम्बन्धित भूगोलमा बसोबास गर्ने जनसङ्ख्याप्रति लक्षित राष्ट्रिय, प्रादेशिक वा स्थानीय, गैरनाफामूलक वा व्यापारिक उद्देश्यका साथ सञ्चालित सञ्चार माध्यम तथा स्वरोजगार, साना, मझौला र ठुलो लगानीका आधारमा वर्गीकरण गरी सुविधा प्रदान गरिने उल्लेख छ ।
यसैगरी, अनलाइन पत्रकारिताको नीतिगत र कानुनी सुरक्षा तथा विकासको प्रत्याभूति गरिनुका साथै अनलाइन पत्रकारितालाई पनि मूलधारको पत्रकारिताकै रूपमा विकास गरिने, पत्रकार र सबै प्रकारका सञ्चार माध्यमको पेसागत तथा भौतिक सुरक्षाको प्रत्याभूति गरिने छ । सम्पूर्ण पत्रकारहरूको स्वास्थ्य, दुर्घटना तथा हुलदङ्गा वा आतङ्कको बिमा गरिने पनि उल्लेख रहेको छ ।
सञ्चार माध्यमलाई आर्थिक रूपमा सबल बनाउन र श्रमजीवी पत्रकारको वृत्तिविकास सुनिश्चित वर्ग निश्चित मापदण्डका आधारमा पत्रकारहरूको वर्गीकरण गरी निजामती कर्मचारीसरह पारिश्रमिक नियमित रूपमा प्राप्त गर्ने व्यवस्था मिलाउन राज्यका निकायहरूका बिचमा समन्वयात्मक नीति, योजना र कार्यक्रम बनाएर लागु गरिने पनि कार्यपत्रमा उल्लेख छ ।
विचार तथा अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक एवम् प्रेस स्वतन्त्रताको पूर्ण ग्यारेन्टी गर्ने गरी आवश्यक संरचना र पूर्वाधारको निर्माण गर्नुका साथै कानुनी र व्यावहारिक सुनिश्चितता गरिने छ ।
सञ्चार माको व्यावसायिक र संस्थागत विकासका लागि मिडियालाई राष्ट्रिय सेवामूलक उद्योगसरह मान्यता प्रदान गरी संरक्षण र संवर्धनको नीति लिइनेछ । आमसञ्चार माध्यममा सबै वर्ग, क्षेत्र, जाति, भाषा र समुदायको पहुँच बढाउने गरी समावेशी लोकतान्त्रिक सूचना तथा सञ्चार नीति जारी गरिने छ ।