हेटौंडा \ राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेश कार्यालय हेटौडाले प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनको अनुगमनका लागि ४ वटा टोली खटाएको छ । टोलीले निर्वाचन पूर्वको निर्वाचनको दिन र निर्वाचन पश्चात मत गणना र विजय ¥याली तथा सभाहरुको समेत मानव अधिकार दृष्टिकोणबाट अनुगमन गर्ने छ ।
अनुगमनका लागि बागमती प्रदेशका कार्यालय प्रमुख सहसचिव यज्ञप्रसाद अधिकारीको नेतृत्वमा लोकनाथ घिमिरे र निर्मला बोगटीलाई काठमाण्डौ र ललितपुर जिल्लामा, मानव अधिकार अधिकृत रेवा रेग्मीको नेतृत्वमा रारा कर्माचार्यको टोलीलाइ काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक जिल्लामा, मानव अधिकार अधिकृत लक्ष्मी पौडेल नेतृत्वमा अस्मिता पोखरेललाई रामेछाप र सिन्धुली जिल्लामा, पवित्रा भण्डारीको नेतृत्वमा विजया उप्रेती मैनालीलाई मकवानपुर र चितवन जिल्लामा अनुगमनका लागि खटाएको छ ।
यसै गरी आयोगले प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन अनुगमनका लागि १० वटा उच्च स्तरीय टोलीलाई समेत निर्वाचनको दिन अनुगमनका लागि विभिन्न जिल्लामा खटाएको छ ।
उच्चस्तरीय टोलीमा आयोगका अध्यक्ष तपबहादुर मगरको नेतृत्वमा विरबहादुर बुढामगरको टोलीले काठमाण्डौ र ललितपुर जिल्लामा अनुगमन गर्ने छ । आयोगका सदस्य मनोज दुवाडी नेतृत्वको टोलीले काभ्रेपलाञ्चोक तथा भक्तपुर जिल्लामा, सदस्य लिली थापा नेतृत्वको टोलीले काठमाण्डौको क्षेत्र नं ६,७ र ८ मा आयोगका पुर्व सदस्य गौरी प्रधान नेतृत्वको टोलीले नुवाकोट जिल्लामा तथा आयोगका पूर्व सदस्य सुशील प्याकुरेल नेतृत्वको टोलीले दोलखा र रामेछाप जिल्लामा तथा आयोगका पूर्व सदस्य सुदीप पाठकको टोलीले काठमाण्डौ क्षेत्र नं ६, ७ तथा ललितपुर जिल्लामा अनुगमन गर्ने भएको छ ।
आयोगका कामु सचिव मुरारिप्रसाद खरेल नेतृत्वको टोलीले काठमाण्डौ क्षेत्र नं ३ तथा सहसचिव डा. टिकाराम नेतृत्वको टोलीले भक्तपुर क्षेत्रनं १ र २, सहसचिव सम्झना शर्माको टोलीले काठमाडौं क्षेत्र नं १ र २ मा उपसचिव नितु गर्तोलाको टोलीले ललितपुर क्षेत्र नं १ र २, सहसचिव नवराज सापकोटा नेतृत्वको टोलीले धादिंग जिल्ला र उपसचिप झकरबहादुर रावल नेतृत्वको टोलीले रसुवा र नुवाकोट जिल्लामा अनुगमन गर्ने छ ।